दसैँमा बर्सेनि महँगो भाडाको मारमा हवाई यात्रु

इ चितवन खबर

October 01, 2025

काठमाडौँ । दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरूको जवाफ हुन्छ । एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले अनलाइनबाट टिकट पाउन मुस्किल छ । सहुलियत दरका टिकट त परैको कुरा महँगो टिकट पनि पाउन सकस छ । 

 

काठमाडौँदेखि सबैभन्दा लामो गन्तव्य धनगढीका लागि रु १७ हजार भन्दा बढी हवाई भाडा पर्छ । काठमाडौँ– विराटनगरमा रु नौ हजार ७०० छ । धनगढीकी निशा पाण्डे महंँगै भए पनि हवाई टिकटको खोजीमा निकै दिन भौँतारिए । मुस्किलले महँगो दरमा हवाई टिकट पाए । उनलाई धनगढीबाट कसरी फर्किने भन्ने अर्को चिन्ता छ । बझाङका वसन्तराज जोशीलाई विगतका वर्षझैँ यसवर्ष पनि दसैँमा टिकट पाउन निकै सास्ती बेहोर्नुपर्‍यो । मोरङकी सङ्गीता सापकोटाले विराटनगरका लागि हवाई टिकट नपाएपछि गाडीबाटै गन्तव्यतर्फ लागे ।

 


हवाई भाडा महँगो भएको गुनासो बढेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडादर सस्तो बनाउन पटक–पटक वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । दसैँमा यात्रुको चापलाई मध्यनजर गरी उडान सहजीकरण गर्न संस्कृति, पर्यटन तथा नागकि उड्डयन मन्त्रालयले, क्यानका पदाधिकारी, वायुसेवा कम्पनीका प्रतिनिधिसँग हालै छलफल पनि गरेको थियो । 


किन हरेक वर्ष दसैँमा हवाई भाडा महँगो हुन्छ भन्ने जिज्ञासामा क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, 'अहिले सबै मानिसले हवाई भाडा महँगो भयो भनिरहेका छन् । हामीले हवाईभाडा सस्तो गर्नु निरन्तर वायुसेवा कम्पनीलाई निर्देशन दिइरहेका छौँ । सोही निर्देशन बमोजिम बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सले धनगढीका लागि उच्चतम भाडा रु १७ हजार रहेकामा रु १२ हजार ५०० सम्ममा टिकट बिक्री गरेको सिस्टममा देखाएको छ ।' 

 

सूचना अधिकारी भूलले यो समस्या हरेक पटक दोहोरिरहेकाले हवाई भाडा प्रणालीबारे स्पष्ट हुन जरुरी रहेको उल्लेख गरे । नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ का अनुसार नेपालको हवाई यातायातमा यदि यात्रु वा कार्गोको भाडादर तोक्नुपरेमा क्यानले सिफारिस गर्ने, नेपाल सरकारले निर्धारण गर्ने र त्यो लागू भएनभएको क्यानले अनुगमन गर्ने र कार्यान्वयन नभएमा क्यानको महानिर्देशकले सम्बन्धित एयरलाइन्सलाई कारबाही गर्ने व्यवस्था छ ।

 

सूचना अधिकारी भूलका अनुसार प्राधिकरण ऐनअन्तर्गत बनेको दुई वटा नियमावली छन् । सेवा प्रदायक र नियामक । जसमा विमानस्थल सेवा शुल्क नियमावली २०७८ र नागरिक उड्डयन नियमावली २०५८ । नागरिक उड्डयन नियमावलीमा अन्तरराष्ट्रिय हवाई भाडा चाहीँ जुन देशसँग हवाई सम्झौता हुन्छ त्यो सम्झौताका आधारमा निर्धारण हुन्छ । अहिले नेपालले ४२ मुलुकसँग दुईपक्षीय हवाई सेवा सम्झौता गरेको छ । अधिकतम् मुलुकसँग ‘ओपन फेयर पोलिसी’ ९फ्रि प्राइसिङ० माग र आपूर्तिका आधारमा हवाई भाडा निर्धारण गरिन्छ । 

 

सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा अधिकतम र न्यूनतम हवाईभाडा तोक्ने हुनाले तोकिएको भन्दा बढी भाडा एयरलाइन्सले लिन नपाउने सूचना अधिकारी भूलले बताए । उनका अनुसार आन्तरिकतर्फ दुई प्रकारले भाडा निर्धारण हुन्छ । नियमित र चार्टर्ड उडान । यी दुवै उडानको भाडादर क्यानबाट स्वीकृत हुनुपर्छ । 

 

उनले भने, 'नियमित उडानमा पाँच हजार ७०० केजीभन्दा सानो जहाज अर्थात् १९ सिट क्षमता भन्दा सानो जहाज छ भने सिङ्गल फेयर सिस्टम हुन्छ ।' उदाहरणका रुपमा काठमाडौँबाट लुक्ला उड्ने ट्वीनअटर जहाजको भाडादर एउटै हुन्छ । तर, १९ सिट क्षमताभन्दा माथिका एटीआर जहाजमा सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा न्यूनतम र अधिकतम भाडादर तोक्ने र एयरलाइन्सले न्यूनतम, अधिकतमको भाडा निर्धारण गर्न पाउँछन् । 

 

हाल विराटनगरको हवाई भाडा रु पाँच हजार १०० बाट नौ हजार ७०० कायम छ । एयरलाइन्सले पाँच हजार १०० देखि नौ हजार ७०० सम्मका प्रत्येक टिकट बिक्री गर्न पाउँछ । तर, पाँच हजार एकसय भन्दा कम र नौ हजार ७०० भन्दा बढी लिएमा गैरकानुनी हुन्छ । उनले काठमाडौँबाट विराटनगरको भाडादर निर्धारण वायुसेवा कम्पनीको लागतदरका आधारमा हुने जानकारी दिए । सरकारले २०७३ मा निर्धारण गरेको हवाईभाडा नै हालसम्म कायम छ । लागतदरमा हवाई इन्धनको मूल्य, जहाजको प्रकृतिको आधार, यात्रुसेवा शुल्क र १३ प्रतिशत कर यी चार कुराको आधारमा हवाई भाडा निर्धारण हुने क्यानले उल्लेख गरेको छ । पहिला साना जहाजको आधारमा भाडा निर्धारण गरिएको थियो । 

 

अहिले बजारमा एटीआर–७२ र सिआजे जहाज सञ्चालन भइरहेको छ यसले पनि हवाईभाडा बढेको बताइन्छ । नेपालमा हाल दक्षिण एसियाकै महँगो हवाई इन्धन रहेको अधिकारीहरू बताउँछन् । एयरलाइन्सले हवाई इन्धन, विमानस्थल शुल्क र १३ प्रतिशत करका कारण भाडा महँगो भएको जनाउँदै आएका छन् । राज्यकातर्फबाट इन्धन, विमानस्थल शूल्क र करमा सहुलियत दिएमा मात्रै भाडा घटाउन सकिने विमान सेवा कम्पनीहरू बताउँछन् ।

 

कसरी बढ्छ हवाई भाडा ?

यसैपनि काठमाडौँबाट एकतर्फी खाली सिट जहाज चलाउनुपर्ने भएकाले सञ्चालन खर्च व्यवस्थापनका लागि भाडा महँगो हुने विमान सञ्चालक कम्पनीहरू बताउँछन् ।  रुस र युक्रेनको युद्धले जहाजका पार्टपुर्जा महँगो भएको छ । हवाई इन्धनको मूल्य चुलिएको छ । यिनैलगायत कारण हवाई भाडा महँगो भएको कम्पनीहरूको भनाइ छ । सरकारी स्वामित्वको नेपाल वायुसेवाको आन्तरिक बजारमा उपस्थिति कमजोर छ । करिब ९० प्रतिशत आन्तरिक हिस्सा निजी वायुसेवा कम्पनीको छ । 

 

'प्रत्येक वर्षको दुई महिना यस्तो समस्या आउँछ । सुगम गन्तव्यमा उड्ने जहाज ३० वटा छन् । दुर्गममा उड्ने जहाज १० वटा छन् । सिट क्षमता निश्चित छ । दैनिक १० हजार यात्रु उड्छन् । अहिले आन्तरिकमा वार्षिक ४५ लाख र अन्तर्राष्ट्रियमा ५० लाख यात्रुले हवाई यात्र गर्छन् । अब, दुई महिनाका लागि मात्रै जहाज थप्ने कुरा भएन । यसकारण उडान चापले हवाई भाडा सस्तो गराउन समस्या हुन्छ,' क्यानका सूचना अधिकारी भूल बताउँछन् । 

 

उनले कानुनी रुपमा पनि एयरलाइन्सलाई कम मूल्यमा हवाई टिकट बिक्री गराउन नसकिएको उल्लेख गरे । हवाई भाडादर कम गर्न कि एकल भाडादरमा जानुपर्छ कि, इन्धनमा सहुलियत र करमा छुट दिनुपर्छ । तब मात्रै समस्याको समाधान हुने उनी बताउँछन् । नभए एयरलाइन्सलाई भाडा कम गर भनेर मात्रै विमान कम्पनी सञ्चालन गर्न समस्या हुने उनको जिकिर छ ।

 

वायुयान कोष सञ्चालन गरेर दसैँलगायत चाडपर्वको अवसरमा सम्बन्धित एयरलाईन्सलाई सहयोग गर्ने गरेको खण्डमा भाडादर सस्तो हुने उनको भनाइ छ । नीतिगत सुधार गरेर वायुसेवा कम्पनी र यात्रु दुवै मर्कामा नपर्नेगरी हवाई भाडा समायोजन गर्नुपर्ने देखिन्छ ।वायुसेवा सेवा सञ्चालक सङघका अध्यक्ष मनोज कार्कीले दसैँमा हवाई कम्पनीले तोकिएको उच्चतम भाडादर भन्दा बढी भाडा नलिएको बताउँछन् । काठमाडौँबाट बाहिरका जिल्ला जाने यात्रुको अत्यधिक चाप रहेको र फर्किने यात्रु नभएकाले भाडा केही महंँगो भएको उनले बताए । 

 

वायु सेवा प्रदायक कम्पनीले दसैँ आउन एक महिनाअघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा महँगो भाडा असुल्ने गरेको गुनासो सुनिन्छ । दसैँका कारण आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक विजयादशमीसम्म उडानमा चाप छ । आन्तरिकमा एकतर्फी दैनिक एकसय ६० हाराहारी उडान भइरहेका छन् । अन्तरराष्ट्रियमा दैनिक एकसय २० हाराहारी उडान भइरहेका छन् । 

 

निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले तोकिएको भन्दा बढी भाडादर नलिएको दाबी गरेका छन् । दसैँमा यात्रुको चाप रहेकाले केही गन्तव्यमा हवाई टिकट पाउन समस्या रहेको उनीहरूको भनाइ छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आन्तरिक र अन्तरराष्ट्रिय दुवै तर्फ गरी दैनिक ३५० हाराहारी उडान हुने गरेकामा हाल दैनिक ४५० भन्दा बढी उडान भइरहेका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । 


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

July 10, 2026

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

July 10, 2026

सुनचाँदीको मूल्य घट्यो

July 09, 2026

विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली, उत्कृष्ट एक हजार विश्वविद्यालयको सम्बन्धन अनिवार्य

July 09, 2026

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

July 09, 2026

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

July 09, 2026

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

July 08, 2026

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

July 08, 2026

तुइन खोलामा पहिरो रोकथाम सुरु

July 08, 2026

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

July 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .