काठमाडौँ। आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुकनै रोज्ने गरेको डरलाग्दो तथ्याङ्क बाहिरिएको छ ।
नेपाल मेडिकल काउन्सिलले वार्षिक झन्डै दुई हजारको सङ्ख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गर्छ । त्यतिकै सङ्ख्यामा विदेश जान चिकित्सकले काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेको पाइएको छ ।
काउन्सिलमा सन् २०२५ मा दुई हजार १२२ जनाले चिकित्सककोे दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका थिए । सोही वर्ष दुई हजार ३९० जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यस वर्ष लाइसेन्स लिएकाले भन्दा २६८ जना बढी चिकित्सक बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।
काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले सन् २०२० यता १३ हजार १४० चिकित्सकले लाइसेन्स लिएका र ११ हजार ६८ चिकित्सक बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएको राससलाई बताउनुभयो ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले विगत १० वर्षदेखि चिकित्सकहरु राम्रो सेवा सुविधाका लागि विदेश जाने गरेको बताउनुहुन्छ । विदेशमा आकर्षक तलव, सेवा सुविधाका कारणले चिकित्सक जाने गरेका छन् ।
उहाँका अनुसार सबभन्दा धेरै चिकित्सक अमेरिका, वेलायत, माल्दिभ्स, सयुक्त अरब इमिरेट, अस्ट्रेलिया, भारत, क्यानडा, जर्मन जाने गर्छन् । नेपालमा मेडिकल अधिकृत तहमा कमै अवसर हुने गर्दछ । त्यसैले स्नातकोत्तर तह पढ्दै र अस्पतालमा काम गर्न असल चारित्रिक प्रमाण पत्र लिने गरेको निमित्त रजिष्ट्रार डा पाण्डेले बताउनुभयो ।
काउन्सिलको तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२० यता वर्षमा दुई हजार ९९५ जना चिकित्सक गएका छन् । अमेरिकापछि बेलायतमा दुई हजार ६३७ जना, माल्दिभ्समा दुई हजार २४१ जना, अस्टे«लिया ८४८ जना, संयुक्त अरब इमिरेटसमा ७२० जना, क्यानडामा १४८ जना, जर्मनमा ९२ जना चिकित्सक गएका तथ्याङ्कमा देखिएको छ । छिमेकी मुलुक भारतमा पनि ९१८ जना चिकित्सक गएको तथ्याङ्क छ । काउन्सिलका अनुसार चिकित्सक विभिन्न २३ मुलुक जाने गरेका छन् ।
सन् २०२० मा ८६९ जना चिकित्सक मुलुक बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यस्तै सन् २०२१ मा एक हजार ३२७ जना, सन् २०२२ मा एक हजार ९५४ जना, सन् २०२३ मा दुई हजार ३१८ जना, सन् २०२४ मा दुई हजार २१० जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।
“चिकित्सकले असल चारित्रिक प्रमाणपत्र विदेशमा जागिर र पढनका लागि लिन गर्दछन्”, निमित्त रजिष्ट्रार पाण्डेले भन्नुभयो, “तर नेपालबाट धेरै जसो चिकित्सक पढ्नभन्दा पनि विदेशमा गएर नाकरी गर्नका लागि असल चारित्रिक प्रमाण पत्र लिने गरेका छन् ।”
यस्तै सन् २०२० मा दुई हजार १३१ जना चिकित्सकले दर्ता प्रमाणपत्र लिएका छन् । सन् २०२१ मा एक हजार ७१६ जना, सन् २०२२ मा दुई हजार ८५ जना, सन् २०२३ मा दुई हजार ६९२ जना, सन् २०२४ मा दुई हजार ३९४ जना चिकित्सकले काउन्सिलबाट दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका छन् ।
नेपालमा सेवा सुविधा कम भएको कारणले चिकित्सक रोजगारीका लागि विदेश जाने गरेका छन् । काउन्सिलमा अहिलेसम्म ३९ हजार ४८६ जना चिकित्सकले लाइसेन्स लिइसकेका छन् ।
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .