महिनावारी सँग जोडिएको स्वास्थ्य

डा. अरुणा उप्रेती

इ चितवन खबर

November 03, 2025

काठमाडौँ।  किशोरी र महिलाको महिनावारीका बारेमा अनेक वृत्तचित्र, चलचित्र बनेका छन् र ४०–४५ वर्षपछि महिलाको रजनोवृत्ति अर्थात् महिनावारी बिस्तारै सुक्दै जाने समस्याका बारेमा न त प्रायः छलफल हुन्छ, न यसका बारेमा महिला स्वास्थ्यसम्बन्धी अनुसन्धान गरिन्छ । 

    
महिनावारी सुुक्नुु रोग होइन तर जसरी महिनावारी हुुँदा कसैकसैलाई साधारण समस्या हुुन सक्छ, महिनावारी सुुक्दा पनि साधारण समस्या देखापर्नुु स्वाभाविक हो भनेर बुुझ्नसके महिलालाई सजिलो हुुने थियो । “मेरो महिनावारी ४५ वर्षमा सुकेको थियो । पहिले त मलाई केही तातो हुने, खलखली पसिना पनि आउँथ्यो । मलाई मेरो साथीले हर्मोन औषधि दिइन् तर त्यसले मलाई झन् समस्या गरायो । मैले औषधि पनि छोडेँ र मैले त यस अवस्थालाई सामान्य रुपमा लिएको छु । अहिलेसम्म रजोनिवृत्तिका समस्या भएको छैन,” ७५ वर्षीया एक जनस्वास्थ्य विज्ञले केही दिनअघि मलाई इमेलमा लेखेकी थिइन् । 

    
“मेरो महिनावारी सुकेको चार वर्ष भयो । पहिलेपहिले त कहिले दुई÷तीन महिनामा हुन्थ्यो । त्यतिबेला केही बढी रगत जान्थ्यो । फापर, ढिँडो, सिस्नो खाएँ । मलाई ढुक्क पो भएको थियो ।  मलाई कुनै समस्या नै भएन,” गाउँकी एक महिलासँगको भेटमा भनेकी थिइन् । 

    
नेपाली महिलाको महिनावारी सामान्यतया ४५–५२ वर्षको उमेरको हाराहारीमा पुगेपछि बन्द हुन्छ । अन्तरराष्ट्रियस्तरमा अमेरिकी तथा जापानी महिलाका बीचमा अधिकांश रजोनिवृत्तिपछिको अवस्थालाई लिएर धेरै अनुसन्धान भएको पाइन्छ । नेपालमा भने ‘मेनोपोज सिमटम इन नेपाल’की डा कान्ति गिरीले सन् २००१ मा काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर र चितवनका १५० महिलामा गरिएको एउटा अध्ययन पाइन्छ । रजोनिवृत्ति वा महिनावारी सुकेपछि कतिपय महिलालाई केही समस्याहरू पर्न सक्छन् । यद्यपि, धेरै महिलालाई केही समस्या पर्दैन । यो कुनै रोग होइन भनेर मानिसहरूले बुझ्न गाह्रो भएकाले र महिनावारी सुकेपछि के औषधि गर्ने भन्ने प्रश्न पनि नेपाली महिलाहरूले गर्छन् । 

    
परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा पनि महिनावारी गडबड हुन सक्छन् । गाउँघरमा त ५० वर्षसम्म पनि यसरी कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवार नियोजनका साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ । अनि महिनावारी सुकेको हो कि यो साधनको प्रभावले भएको हो भन्ने छुट्याउन नै गाह्रो पर्छ । लगातार यस्तो साधन प्रयोग गर्दा हड्डी ‘फुसफुसे’ भएर भाँचिने समस्या हुन्छ । त्यसैले ३५ वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनुपर्छ । तर यो विषयमा कतै छलफल नै हुँदैन । 
 
    
रजोनिवृत्तिको बेला कसैलाई समस्या हुन्छ, कसैलाई हुन्न भनेर जाँच्ने यन्त्र त छैन । तर भोजन, आराम, सकारात्मक विचारले समस्या हुनेलाई पनि, समस्या नहुनेलाई पनि स्वास्थ राम्रो हुन्छ । तर युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौंला भनेर भनियो भने रजोनिवृतिमा समस्या हुन सक्छ । त्यसैले पहिले नै होस पु¥याए राम्रो हुन्छ । 

    
मेरी आमाको ४५ वर्षमा नै रजोनिवृत्ति भयो मेरो १० वर्षअघि ५० वर्षमा नै भयो, केही समस्या नै भएन । तर कसै कसैलाई राति निन्द्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने र कसै कसैलाई जिउ चिलाउने र स्तनको आकार सानो हँुदै जान सक्छ । यसको कारण शरीरमा एस्ट्रोजेन नामक हर्मोन कम हुँदै जानु हो । चुरोट र सूर्ती प्रयोग गर्ने महिलाहरूलाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ । त्यसैले स्वस्थ रहने हो भने गाउँघरका महिलालाई चुरोट र तमाखु छोड भन्नै पर्छ । तर नेपालको गाउँघरमा महिलाहरुलाई धु्रमपान र स्वास्थ्यमा पर्ने असरको बारेमा प्राय थाहा हुँदैन । 

    
प्रायः कति जनालाई त थाहा पनि हुँदैन कि महिनावारी बन्द हुने प्रक्रिया एकैपल्टमा हुँदैन । सुरुआतमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुने गर्छ । यो महिनावारी बन्द हुने प्रक्रिया हो भन्ने नबुझ्दा कतिले त मलाई रोग लाग्यो कि भनेर डराउँछन् । अनि लौ पाठेघरको क्यान्सर भयो भनेर तर्सिन्छन् ।

    
रजोनिवृत्तिको विषयमा भएका अनुसन्धानहरुले के देखाएका छन् भने यस्ता समस्याहरुलाई महिलाहरुको भोजन, शारीरिक व्यायाम, जीवन प्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ । साथै युवावस्थाको स्वस्थ खानपिनले पनि धेरै भूमिका खेल्छ । जीवनमा पछि पैसा चाहिन्छ भनेर बैंकमा पैसा राख्ने महिलाहरूले रजोनिवृत्ति पनि स्वस्थ रहोस् भनेर युवावस्थादेखि नै स्वास्थ्यमा लगानी गर्नुपर्छ । अर्थात स्वस्थ खाना, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । कतिपय महिलाले पनि यसलाई उमेरअनुसारको स्वाभाविक प्रक्रिया ठान्दछन् भने कतिपयले धर्म–कर्मतर्फ लाग्ने समयको रुपमा पनि लिएको पाइन्छ । अहिले त रजोनिवृत्ति भइसकेका महिलाहरू अफिसमा काम पनि गरिरहेका हुन्छन् । 

    
रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ध्यान राख्नु पर्ने चाहीँ हुन्छ । ३५–४० वर्षको उमेरपछि नै शरीरका हाडमा घनत्व कम हुँदै जान्छ, रजोनिवृति भएपछि या झन बढ्न जाने हुनाले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनुपर्छ । विभिन्न अध्ययनले देखाएका छन् तातो हुने धेरै पसिना आउने आदि रजोनिवृत्ति हुँदा हुने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नुपर्छ । प्रोटिन र लौहतत्व पाइने र भटमासको  विशेष तत्वले मुटुको रोगबाट बचाउन मद्दत पनि गर्छ । शरीरमा एस्ट्रोजनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जानसक्छ । यस्तो बेलामा छाला र गुप्ताङ्मा चिलाउने समस्या हुनसक्छ । यस्तो बेलामा तोरी, नरिवल, तिल, बदामको तेल प्रयोग गर्न उचित हुन्छ । 

    
केही महिलाहरूलाई रजोनिवृत्ति अवस्थामा मन दिक्क हुने, मन छिनछिनमा परिवर्तन हुने हुन्छन् । यस्ता परिवर्तन कतिले सजिलै आत्मसाथ गर्न सक्छन् त कतिलाई यस्ता परिवर्तनले चिन्तित बनाउँछ । यस्ता परिवर्तनले कस्तो असर गर्छ भन्ने कुरा महिलाको शारिरीक अवस्था र सम्पूर्ण स्वास्थ्य स्थितिले पनि निश्चित गर्छ । यससँगै ती महिलाको आर्थिक स्थिति, कामकाज, पारिवारिक जीवन, सामाजिक जीवन, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने क्षमता तथा रीतिरिवाजले पनि निश्चित गर्छ । यो मानसिक रोग होइन तर यस्तो समस्याले धेरै दुःख दिए मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ ।

    
व्यायाम गर्ने महिलाहरुलाई रजोनिवृत्ति भएपछि शरिर एकैछिनमा तातो हुने, एकैछिनमा चिसो हुुने समस्या पनि केही कम गर्छ । ‘‘५० वर्ष पुगेपछि मेरो घुँडा दुख्ने समस्या भएको थियो, महिनावारी पनि सुक्यो । तर विस्तारै व्यायाम गरेपछि दुखाई कम हुन्छ । अहिले मैले नियमित रुपमा योग गर्न थालेको छु । मलाई  रमाइलो लाग्छ”, ६० वर्षीय निलिमाले भनेको कुरा मलाई साह्ै घत लागेको थियो । व्यायामलाई बोझको रुपमा नलिएर आफूलाई फाइदा पु¥याउँछ भन्ने विश्वास गरेपछि अलिअलि गर्दै व्यायाम गर्ने बानी पर्दै जान्छ, स्वस्थ भइन्छ । रजोनिवृत्ति समस्या बन्दैन ।

    
रजोनिवृत्ति भएकी महिलालाई मानसिक तनावले पनि समस्या पर्न सक्छ । जस्तो कामको धेरै बोझ भए, धेरै थकाई, दिनदिनै झगडा भएमा, उमेर बढेपछि बुढो भए भनेर चिन्ता गरेमा मानसिक तनाव बढ्न जान्छ । यसरी महिनावारी सुक्दा तनाव धेरै पैदा भए शरीरलाई नै नकारात्मक असर गर्दछ । तनाव कम गर्ने धेरै उपायहरु छन् । कतिपय उपायहरु हामी हाम्रो जीवनमा उपयोग गर्छौ । कतिपय महिलाहरुले तनाव परेका बेला प्राथना गर्ने, योग गर्ने, ध्यान गर्ने, नाच्ने आदि गर्छन् । यस्ता क्रियाकलापले भावना व्यक्त गर्ने र आनन्दको भएर तनाव कम गर्न पनि मद्दत गर्छन् । महिनावारी सुक्ने बेलामा समस्याहरु कम होस् र शरिर स्वस्थ रहोस् भनेर स्वस्थ पोषणको साथै व्यायाम, हिँडाइबाट मानसिक तनाव, अनिन्द्रा, मोटोपन इत्यादि त घटाउँछ नै र आत्मविश्वास पनि बढाउँछ । 


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

September 29, 2026

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

September 28, 2026

विश्व फार्मासिस्ट दिवस : औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

September 25, 2026

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

September 22, 2026

पद छोटो, कामको प्रभाव दीर्घकालीन : ९ महिना १६ दिनमा उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा के गरे ?

September 13, 2026

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

August 22, 2026

भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल

August 21, 2026

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

August 14, 2026

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

August 06, 2026

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

August 06, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .