काठमाडौँ। यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले भन्नुभयो, “गत वर्षको तुलनामा हाल कम सङ्क्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले सङ्क्रमणको जोखिम बढाउने छ ।”
पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टे फस्टाउने भन्दै उहाँले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो । दाहालले पानी सङ्कलन हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गु रोग लाग्ने गरेको छ ।
शाखा प्रमुख डा दाहालले पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा सङ्क्रमण देखिएको र पाँच जनाभन्दा बढी सङ्क्रमण भएका ३० स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिनुभयो ।
सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .