उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

इ चितवन खबर

November 16, 2026

काठमाडौँ।आस्था, श्रद्धा र भक्ति भावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान सम्पन्न भएको छ । 

    
छठ पर्वको अन्तिम दिन आज बिहान मोरङको सुन्दरहरैँचासहित तराईका विभिन्न स्थानमा रहेका नदी, पोखरी तथा जलाशयमा निर्माण गरिएका छठ घाटमा व्रतालु तथा भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा–आराधना गरेका छन् ।

    
मोरङको सुन्दरहरैँचाका विभिन्न स्थानमा निर्माण गरिएका छठ घाटमा बिहानैदेखि व्रतालु तथा भक्तजनको उल्लेख्य भीड लागेको थियो । 

    
बुढीखोला, गछिया खोला, गोठगाउँको मध्याली खोला, सलकपुरस्थित भुल्के जलाधार, विराटचोकस्थित कालीखोला तथा किस्ती खोलालगायतका स्थानमा छठ पर्व उल्लासपूर्ण वातावरणमा मनाइएको छ । 

    
मकवानपुरः जिल्लामा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी भई छठ मनाएका  छन् । 

    
 हेटौँडाको राप्ती तटमा आयोजित छठ विशेष पूजा समारोहमा राप्ती नदी किनाराको दायाँतर्फ निर्माण गरिएको पूजास्थलमा  ६५ हजार व्रतालुले  छठ पूजा गरेको पूजा प्रबन्ध  समिति, हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिनुुभयो ।
    
    
छठलाई लक्षित गरी सात फिटको पण्डालसहित भक्तजनका करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा विभिन्न संरचना निर्माण गरिएकोमा उक्त स्थल खचाखच भरिएको थियो ।
 
    
भक्तपुरः कमल पोखरीदेखि गोदावरी खोलासम्म रातभर जाग्राम बसी बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भएको छ । 

    
आइतबार कमलपोखरीदेखि गोदावरी खोलासम्ममा साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी  आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिएको भक्तपुरको बालकोटस्थित गोदावरी खोला छठ व्यवस्थापक दशरथ ठाकुरले बताउनुभयो ।

    
कपिलवस्तुः जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर, पकडी, लबनी लगायत कपिलबस्तुको ७९ स्थानमा मैथली, अवधी र पहाडी समुदायका महिलाले  आइतबार साँझको अस्ताउँदो सूर्य र सोमबार बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका छन् । 

    
गत वर्षको तुलनामा कपिलवस्तुको सदरमुकाम तौलिहवा लगायतका क्षेत्रमा छठ मनाउने महिलाको सङ्ख्या उल्लेख्य  बढेको छ । यहाँका जमुवार, रामघाट, कृष्णनगर, बहादुरगञ्ज, पकडी, लबनी लगायतका नदी तटीय क्षेत्रमा जम्मा भएका महिला तथा पुरुषले छठ मनाउंँदै रातभर जाग्रम बसी भजन कीर्तन गरेका थिए ।

    
सप्तरीः सप्तरीमा छठ पूजाको चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चारदिने छठ पूजा सम्पन्न भएको छ ।
    
    
व्रतालुले छठ पूजा गर्ने स्थान पोखरी तलाउ, नदी वा जलाशयमा झिसमिसे उज्यालोमा स्नानगरि नरिवलमाथि दियो बालेर पानीमा उभिने र सूर्य उदाएपछि चढाउन राखिएको एकएक पूजाको सामग्री सूर्यलाई देखाउँदै परिवारका सदस्य, आफन्त तथा इष्टमित्रले दुधले अर्घ्य दिएर छठ पूजा सम्पन्न भएको छ ।

    
पर्साः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले  आज बिहान वीरगञ्जका विभिन्न छठघाटमा पुगेर छठीमाईको पूजाआजा गर्नुभएको छ ।

    
छठ पर्वको अवसरमा वीरगञ्ज आउनुभएका थापाले बिहानै पत्नी अञ्जना केसीका साथ वीरगञ्ज–१० स्थित छठघाट पुगेर पूजापाठ,  दर्शन र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नुभएको हो । 

    
त्यसैगरी, उहाँ नगवा प्रहरी चौकीनजिकको छठघाट र उपकैयाँ छठघाट पुगेर छठीमाईको दर्शन तथा पूजाआजा गर्नुका साथै शुभकामनासमेत आदानप्रदान गर्नुभएको छ । 

    
महोत्तरीः यस वर्ष जिल्लाको बर्दिबास बजार क्षेत्रमात्र नभएर यसै क्षेत्रका हाथीलेट, बिजलपुरा, मेघरोल, प्रेमनगर, पशुपतिनगर, किसाननगर र मनहरिपुरसहितका बस्तीका घरआँगनमा छठघाट बनाएर भक्तजनहरुले छठ मनाएका छन् ।  

    
त्यसैगरी गौशाला र भङ्गाहा नगरपालिकाका विभिन्न बस्तीका घरआँगनमै छठघाट बनाएर धेरैले पर्व मनाएका छन् ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .