मर्दीको यात्रा, विशिष्ट अनुभूति

शशी पन्त

इ चितवन खबर

July 15, 2025

केही दृश्य यस्ता हुन्छन्, आँखामै नअटाउने, केही अनुभूति यस्ता हुन्छन्, शब्दमा व्याख्या गर्न नै नसकिने, ओहो ! कहाँबाट
सुरु गरौँ ? कसरी प्रकट गरौँ ? कसरी अन्त्य गरौँ ? मेरो मनलाई व्याकुल बनायो । साँच्चिकै यो यात्राले मलाई विछट्टको
अनुभूति दिलायो ।

 

पर्वतको काखमा जन्मिएर आँगनबाट माछापुच्छ्रे र धौलागिरीको चुचुरोलाई हेर्दै हुर्किएकी भएर होला पहाडको चिसो हावा
र हिउँले ढाकिएका हिमालका टाकुरा असाध्यै मन पर्छन् । त्यही भएर होला, मेरो मनको चाहना पूरा गर्न बेलाबेला
हिमालहरूले बोलाइरहे जस्तो लाग्छ मलाई । पदयात्रा गर्न मन पराउने म हिमाललाई नजिकैबाट नियाल्ने उत्कट चाहनाले
वशीभूत भएर अन्ततः मैले मर्दी हिमालको यात्रा गर्ने निर्णय गरेँ । छोराहरूको साथमा ।

 

जेठ महिनाको १९ गते भरतपुरमा उर्खमाउलो गर्मी थियो । त्यसै दिन सार्वजनिक यातायातहरू पनि बन्द थिए । पर्यटकका
बसहरू भने चलेका थिए । हामी पनि सौराहाबाट पोखरातर्फ जाँदै गरेको पर्यटकको बसमा चढ्यौँ । यतिबेला भने हामीलाई आफू पनि साँच्चिकै पर्यटक भएको भान भइरहेको थियो । दमौलीमा पुगेपछि भने बन्दको प्रभाव हाम्रो गाडीमा राम्रोसँग नै पर्‍ यो । नेपालीहरू मात्र धेरै भएको भन्दै हाम्रो बसलाई अगाडि बढ्न दिइएन । बन्दको दिनमा हिँडेकोमा कता कता मन खिन्न पनि भयो । केही समयको वार्तापश्चात गाडी चल्यो । निकै खुशी भयौँ । बेलैमा पोखरा पुगेता पनि बन्दको कारण धम्पुससम्म जानको लागि गाडी नपाएको हुँदा लेकसाइडको सुन्दर साँझमा रमाउँदै पोखरामा नै बस्यौँ ।

 

भोलिपल्ट सूर्योदयसँगै फेवातालको छेवैमा बसेर एक कप तातो कफी पिएर हाम्रो यात्रालाई फेरि पोखराबाट सुरु गर्‍ यौँ ।
बन्दको प्रभावले गर्दा नेपाली पर्यटकलाई बोक्न पर्यटकका गाडीले पनि अस्वीकार गरे बल्लतल्ल एउटा स्कर्पियो रिर्जव गरी धम्पुससम्म पुग्यौँ । सानो गुरुङ गाउँ, वरिपरि हरियाली दृश्य, चिसो हावा अनि तातो थुक्पा निकै स्वाद लिएर खायौँ ।
धेरैजसो म सहकर्मीहरूसँग यात्रा गर्थेँ, यसपटक भने छोराहरूसँग त्यो पनि पदयात्रा, त्यसैले पनि वर्णनातित छ । प्रकृतिले
सिँगारिएको ठाउँमध्ये मर्दी हिमाल पदयात्रा पर्यटकका लागि निकै लोकप्रिय गन्तव्य हो । यस ठाउँमा स्वदेशी तथा विदेशी
पर्यटकको घुइँचो नै लाग्ने गर्दछ । केही वर्ष यता मलाई पनि मर्दी हिमालले मायालु स्वरमा बोलाए जस्तो लाग्न थालेको थियो। मैले पनि छोराहरूको गर्मी विदाको अवसर पारेर त्यो अवाजलाई पछ्याउँदै उकाले लागेँ । न घाम न पानी मौसमले पनि निकै साथ दिएको थियो । धम्पुस र अष्ट्रेलियन क्याम्पको बिचमा पर्ने वरिपरि हरियो जङ्गलले घेरिएको खुला चउरमा धीत मर्ने गरी लडिबुडी गर्दै त्यहाँको सुन्दर दृश्यलाई आँखा र क्यामेरामा कैद गरी अष्ट्रेलियन क्याम्पतर्फ लाग्यौँ । मौसम राम्रोसँग नखुलेको हुँदा त्यहाँबाट देखिने हिमाली दृश्य भने अवलोकन गर्न पाएनौँ तर पनि हामीलाई त्यति धेरै पश्चाताप भने लागेन किनकी हाम्रो गन्तव्य नै हिमालको फेदी थियो ।

 

अष्ट्रेलियन क्याम्पभन्दा अगाडिको बाटो मेरो लागि पनि पूरै नयाँ थियो । पोथनामा मर्दी हिमाल जाने पर्यटकको नाम
टिपाउनु पर्ने रहेछ । हामीले पनि नाम टिपाउँदै यस वर्षको मर्दी हिमालको पर्यटकको गणनामा हामी पनि पर्‍ यौँ भन्दै मख्ख
पर्‍ यौँ । त्यहीँको एकजना कर्मचारीले हामी पहिलोपटक जाँदै गरेको थाहा पाएपछि हाम्रो सहजताको लागि हातमा एउटा
नक्सा पनि थमाइदिनुभयो । बेलाबेलामा नक्सा निकाल्दै हेर्र्दै गथ्र्यौँ । सानो छोरो अनुले भने हरेक दश पन्ध्र मिनेटमा गुगल
म्याप हेथ्र्यो । कारणवश केही सेकेन्ड ढिलो हुन गएमा ठुलो छोरो अभिले सम्झाइहाल्थ्यो । पहिलो पदयात्रा अनि पहिलो
दिन भएर होला छोराहरू अलिक थकित र आत्तिए जस्तो देखिन्थे । जब म घना जङ्गलमा पुग्छु, विशाल पहाड छेउ
उभिन्छु, अग्लाअग्ला हिमश्रृङखलाहरू देख्छु तब मलाई प्रकृतिको अद्भूत सुन्दरता धार्मिक ग्रन्थमा वर्णन गरिएकी
अप्सराको भन्दा कम लाग्दैन । हामी यस्तै अनुपम दृश्यहरू नियाल्दै पाँच बजे लब्ली हिलमा पुग्यौँ । चिसो ठाउँ भएर हो वा

 

भोक धेरै लागेर हो खाना साह्रै मिठो भयो । छोराहरूले पनि खुब मिठो मानेर खाए । खाना मात्र हैन, बास पनि व्यवस्थित
थियो । टन्न खायौँ, हामी मस्तले निदायौँ ।

 

बेलुका मौसम खराबीका कारण दृश्यावलोकन गर्न नपाए पनि बिहान खुलेको मौसममा देखिएको सुन्दर दृश्यले गर्दा मन
प्रफुल्ल भयो । बिहान सात बजे हल्का नास्ता गरेर हामी प्रकृतिसँग रमाउँदै उकालो लाग्यौँ । मानिसको रुप अनेक भए जस्तै प्रकृतिका पनि अनेक रुप हुन्छन् । अनेक रुपलाई महसुस गर्दै हिँड्दा थकाइ लागेको महसुस नहुँदो रहेछ । नयाँ ठाउँ घुम्न जाँदा फोटो र भिडियो मेरो प्राथमिकतामा पर्ने गर्दछन् । सकेसम्म नछुटाईकन लिन मन लाग्छ । यसपटक भने छोराहरूले फोटोग्राफरको भूमिका राम्रोसँग नै निर्वाह गरेका थिए । फरेस्ट क्याम्प हुँदै रेस्ट क्याम्पमा गएर एकछिन् सुस्तायौँ र खाना खाएर अगाडि बढ्यौँ । त्यो दिन हामी तीन बजे नै लो क्याम्पमा पुगेका थियौँ तर पनि हामी त्यहीँ बस्ने निर्णय गर्‍ यौँ किनकी हामीलाई गन्तव्यमा पुग्नु भन्दा पनि यात्राको आनन्द लिनु थियो । हरेक ठाउँसँग परिचित हुनु थियो । सिमसिम पानी परिरहेको निकै चिसो मौसम थियो । होटल लालीगुराँसमा पस्यौँ र आगो ताप्दै तातो चियाले जिउ ततायौँ । त्यहाँको प्रेमिल आतिथ्यमा मिठो खाना खायौँ । दिनभरको यात्राको रोमाञ्चक क्षणको कल्पनामा हराउँदै कतिबेला निदाइएछ पत्तै भएन । भोलिपल्ट ब्रेकफास्ट गरेर निस्किँदा बिहानको साढे सात भएको थियो । प्रकृतिलाई आत्मसाथ गर्दै हामी निरन्तर उकालो लाग्यौँ । बाटो उकालो होस् या अप्ठ्यारो हामीले आनन्द लिइरहेका थियौँ । त्यहाँको चिसो वातावरणसँग घुलमिल हुँदै थियौँ। बादलडाँडामा पुगेर हेर्दा निकै सु्न्दर दृश्य देखियो । आहा ! प्रकृति कति महान् कलाकार , प्रकृतिको त्यही छटालाई साक्षी राखेर हामीले निकै फोटा खिच्याँै, भिडियो बनायौँ र सम्झना साच्यौँ । बादलडाँडाबाट माथि चढ्ने उकालो हेर्दा सामान्य लागे पनि चढ्न भने हामीलाई निकै समय लाग्यो । यहाँनेर आउँदा भने प्रकृतिले हामीलाई लुकामारी खेलायो । एकैछिनमा बादल फारेर सुन्दर दृश्य देखिन्थ्यो अनि क्यामेराले कैद गर्न नपाउँदै ढाकिहाल्थ्यो । यो पनि एउटा रोमाञ्चक क्षण बनेर मानसपटलमा कैद भयो । पहाडका थाप्लोमाथिका चट्टानका आकृतिलाई जे सम्झ्यो त्यही लाग्थ्यो, जति माथि चढ्दै गयौँ क्यामेराको बटन त्यत्ति नै व्यस्त बन्यो । न त धुलो, न त धुवा, न त होहल्ला, कति धेरै शान्त । दिउँसो एक बजे नै हामी हाइ क्याम्पमा पुग्यौँ । त्यहाँ पुग्नासाथ ठुलो पानी पर्‍ यो बाटोमा पानी नपरेकोमा हामीले आफूलाई धन्य सम्झियौँ । होटल ट्रेकर्सको भाइले खाजा तयार गरुञ्जेल ग्यालरीको फोटोहरू हेर्‍ यौँ । त्यहाँसम्मको फोटोहरू छानेर फेसबुकमा पोस्ट पनि गर्‍यौँ । घरमा बस्दा मौसम खुल्नु र धुम्मिनुमा कुनै मतलब नभए पनि पर्यटक भएर घुम्न जाँदा भने मौसम प्राथमिकतामा पर्दोरहेछ त्यसैले भोलि बिहानको लागि मौसम सफा होस् भन्ने कामना गर्दै बिस्तारामा गयौँ ।

 

पाँचौँ दिन बिहान चार बजे नै हाइ क्याम्पबाट निस्कियौँ । त्यहाँबाट निस्किँदा अँध्यारो भए पनि उकालो चढ्दै जाँदा धर्तीमा
उज्याला किरण छरिँदै थिए । बाटोमा स्वदेशी तथा विदेशी पर्यटकहरू लम्किरहेका थिए । पाखामा चौरीहरू चर्दै थिए ।
उकालो हेर्दा त सामान्य नै देखियो, नजिकै जस्तो पनि लाग्यो । बिहानीको मिरमिरे उज्यालोमा माछापुच्छे«ले मुस्कुराउँदै
हाम्रो स्वागतमा पर्खिरहेको तलैबाट देख्यौँ । नजिक देखिएका हिमालहरू नजिक हुँदैनन्, सामान्य देखिएका उकाला सामान्य हुँदैनन् । छिटोछिटो पाइला चाल्न पनि गाह्रो परिरहेको थियो । लगातार हिँड्न पनि धौ धौ भएको थियो, तर पनि बेलाबेला झुल्किँदै फेरि डाँडाले छेल पर्दै गर्ने सेता हिमालले हामीलाई आफूतिर नै तानिरहेका थिए, त्यसैले विस्तारै थकाइ मार्दै फेरि हिँड्दै थियौँ । यसरी नै साढे दुई घण्टामा त्यो उकालो छिचोल्यौँ र मर्दी भ्यु प्वाइन्टमा पुग्यौँ । भ्यु प्वाइन्टमा पुग्नुको आनन्द पनि कम थिएन , जसले थकाइलाई खाँदै थियो भने आनन्द आउँदै थियो ।

 

उकालो चढ्दै टाकुरामा पुगेपछि मानिसको मन शून्य हुन्छ , ध्यानपछिको अवस्थाझैँ मैले मेरो मन मस्तिष्क रित्तो महसुस गरेँ। आफ्नो धपेडी बिर्सिएँ, तनाब बिर्सिएँ, बिर्सिएँ आफ्ना सारा कामकाजहरू । आफूलाई ताजा र आनन्दानुभूति गरेँ । आँखा अगाडि देखिएका ती हिमशृङ्खलाहरू आँखा बन्द गर्दा आँखा हुँदै मनभित्र पसेर फोटो झैँ टासिएको जादुमय अनुभव भयो । त्यो सुन्दर हिमाली दृश्यले छोराहरूको मुहारबाट सारा थकानहरू खिचेर लगिसकेको थियो । बच्चाहरू रमाएको देखेर म मख्ख थिएँ । लाग्यो यिनीहरूलाई मैले दिन सक्ने यस्तै रमाइला क्षण त हुन् नि !

 

केहीबेरमा नै नयाँ बेहुलीले बिस्तारै घुम्टो उघारेर लजाउँदै हेरे झँै माछापुच्छ्रेको टाकुरीबाट सूर्यको किरणले बिस्तारै
हामीलाई चिहाउँदै हेरेको दृश्य अनुपम लाग्यो । हामी औधी खुसी भयौँ । हिमालहरू वास्तवमा यति सुन्दर हुन्छन् कि
तिनीहरूलाई जतिपटक हेरे पनि, जताबाट हेरे पनि, जसरी हेरे पनि सुन्दर देखिन्छन् । मर्दी त माछापुच्छ्रेको काखमा लुपुक्क टाँस्सिएर बसेको रहेछ साथै अन्य हिमालहरू पनि लहरै पहरेदार बनेर उभिएका रहेछन् । आँखाले ती सुन्दर दृश्यावलोकन गर्दै गर्दा मनमा अनेकौ भावनाहरू उत्पन्न गरायो । वर्णन गर्नलाई शव्दको भने म गरिब भइरहेँ । आफूलाईू सुन्दरतम् देशको भाग्यमानी नागरिक ठानेँ । तर यस्ता प्रकृतिक स्रोत र साधनको सही ढङ्गले उपयोग गर्न नजान्दा हाम्रो देश आर्थिक रुपमा पछाडि परेकोमा कता कता मन खिन्न पनि भयो । सोचेँ, सायद हाम्रो देशको राजनीतिक अवस्था देखेर यी हिमालहरूलाई पनि उदेक लाग्दो हो ।

 

हिमालमा के छैन, आशा छ, उत्साह र उमङ्ग छ, आँट र साहस छ । यस्तै कुराले जीवनमा केही गरौँ भन्ने भावना जगाइदिन्छ। साँच्चिकै हिमाल त हाम्रा प्रेरणाका स्रोत हुन्, ऊर्जाका खानी हुन् । हिमालले हामीलाई जीवनको महत्त्व सिकाउँछ, अक्सिजन र सासको महत्त्व बुझाउँछ ।

 

आँखा र क्यामेरामा हिमाली संसार राखेर हामी ओर्लियौँ । ओर्लिँदै जाँदा घाम पनि छिप्पिँदै थियो । मर्दीलाई छोडेपछि
मलाई त्यहाँ बिताएको छोटो तर रोमाञ्चक क्षणले पछ्याइरह्यो । मैले भुल्न सकिनँ त्यो चिसो मौसमलाई, मैले भुल्न सकिनँ पाखामा चरिरहेका चौरीलाई, मैले भुल्न सकिनँ मलाई एकटकले हेरिरहेका ती सेता हिमालहरूलाई । ओरालो झर्दै गर्दा पनि केही छुट्यो कि झैँ गरी आँखाले भ्याउन्जेल फर्किदै हेरिरहेँ । मलाई लाग्थ्यो, हिमालले पनि मतिर हेर्दै फेरि छिट्टै आऊ है ! म तिम्रो पर्खाइमा हुनेछु भन्दै थियो ।

 

यात्रामा उकालो चढेर गन्तव्यमा पुग्नुलाई मात्र यात्रा सफल मानिँदैन, झर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । हाइ क्याम्पमा
नास्ता गरेर बिहान दश बजे त्यहाँबाट ओरालो लाग्यौँ । हामीले सुनेका थियौँ बाटो सिदिङतिरबाट छोटो हुन्छ, त्यसैले झर्दा
भने हामी लो क्याम्प हुँदै सिदिङतिर झर्‍ यौँ । हामीलाई लो क्याम्पमा साढे दुई घण्टामा झर्न सकिन्छ भनेको ओरालो करिब पाँच घण्टा लाग्यो । बाटैभरि मुसालधारे पानी परेको थियो । पानीले भिजेर उचाल्न नसकिने जुत्ता, ठाडो सिँढीको जति झरे पनि नसकिने ओरालो अहिले सम्झिँदा पनि उत्तिकै अत्यास लाग्छ तर पनि हामी जाँदा बाटोमा पानी नपरेकोमा आफूलाई भाग्यमानी सम्झिँदै खुसी हुँदै थियौँ । हामीहरू साँझको ६ बजे मात्र सिदिङ आइपुगेका थियौँ । बाटोमा बाराका तीनजना भाइसँग सिदिङबाट एउटा जिप रिजर्ब गरेर पोखरासम्म सँगै जाने सल्लाह भएको थियो । ती भाइहरू झरेर एक घण्टा अगाडिबाट हामीलाई कुर्दै बसेका रहेछन् । अरुले जाऔँ भन्दा पनि नगई हामीलाई कुरेर बसेका ती भाइहरूको इमानदारिता देखेर निकै माया लाग्यो । बेलुका नौ बजे पोखरा आइपुग्यौँ र त्यो रात पोखरामा नै बस्यौँ । छैटौँ दिनमा हामी यात्राका हरेक पललाई मानसपटलमा सुरक्षित राख्दै घर फर्कियौँ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( १००% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

July 01, 2026

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

July 01, 2026

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

June 30, 2026

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

June 30, 2026

१६७ भाषामा अध्ययन गर्न मिल्ने गरी नेवाः सांस्कृतिक ज्ञानकोष अनलाइनमा

June 29, 2026

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर

June 29, 2026

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

June 29, 2026

कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

June 29, 2026

असार १६ र १७ गते भारी वर्षाको सम्भावना

June 29, 2026

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

June 29, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .