इ चितवन खबर
July 04, 2026
नवलपरासी । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ ।
आयोजनाको पूर्वी खण्ड अन्तर्गत पेभमेन्ट तर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्रिट पेभमेन्ट (ढलान सडक) को सम्पूर्ण निर्माण शुक्रबारदेखि सम्पन्न भएको नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इञ्जिनियर शिव खनाले जानकारीदिनु भयो । “मुख्य सडकको कालोपत्रे र ढलान सडक निर्माण सम्पन्न भइसकेको छ । अब सडक सुरक्षा अन्तर्गतका कामहरु मात्र बाकीँ रहेका छन् ”,उहाँले भन्नु भयो, “यो सँगै सडक आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ । ”
उहाँका अनुसार निर्माण सम्पन्न भइसकेका अधिकांश खण्डमा सवारी आवागमन सहज भइसकेको छ भने बाँकी रहेका सहायक संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ ।
एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक आयोजना दुई खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्म करिब ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म करिब ४८ किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन् ।
सन् २०१९ मा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता भएको आयोजना कोभिड–१९ महामारी, वन क्षेत्रको रूख कटानमा ढिलाइ, विद्युत् तथा खानेपानीका संरचना स्थानान्तरण, नदीजन्य निर्माण सामग्रीको आपूर्ति समस्या तथा अन्य प्राविधिक कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन ।
पछिल्ला महिनामा निर्माण कार्यले उल्लेखनीय गति लिएसँगै पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे सम्पन्न भएको हो । यसअघि अधिकांश पुल, कल्भर्ट, नाला, सेवा सडक र अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।
सूचना अधिकारी खनालले बाँकी रहेका सडक सुरक्षा तथा सौन्दर्यीकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
देशकै अत्यधिक सवारी चाप हुने पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो सडक विस्तार आयोजना सम्पन्न भएपछि नारायणघाट–बुटवल यात्रा थप सुरक्षित, सहज र छोटो हुने अपेक्षा गरिएको छ । यसले गण्डकी, लुम्बिनी र बागमती प्रदेशबीचको आवागमन, व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 04, 2026
July 04, 2026
July 04, 2026
July 04, 2026
July 03, 2026
July 03, 2026
July 03, 2026
July 01, 2026
June 30, 2026
June 29, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .