इ चितवन खबर
July 12, 2026
बाग्लुङ। अघिल्तिर सतिसालझैँ उभिएको कालिका भगवती मन्दिर । मन्दिरको चौघेरोमा बसेर कुची र रङसँग खेलिरहेका कलाकार । आफैँमा चित्रमय कालिका मन्दिर क्यानभासमा जीवन्त रूपमा पोतिँदै थियो । सोह्रौँ शताब्दीताकाको मन्दिर कलामा प्रतिविम्बित भइरहेको थियो । बागलुङस्थित कालिका मन्दिर शनिबार कलामय बन्यो । ‘मनसुन स्थलगत चित्रकला कार्यशाला’मा अग्रजदेखि अनुजसम्मका कलाकार एकैथलोमा जुटे ।
सम्पदा चिनाउनुका साथै कलालाई सर्वसाधारणसँग जोड्न मन्दिरमा स्थलगत दृश्य चित्रकला कार्यशाला गरिएको थियो । कार्यशालामा सहभागी कलाकारले चित्र मात्र उतारेनन्, कलाकर्मका अनुभव र सिकाइसमेत साटासाट गरे । चित्रकलाका आयामबारे मन्थन गरे । कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको कार्यशालामा काठमाडौँ, पोखरा, म्याग्दी र बागलुङका गरी २९ जना कलाकार सहभागी थिए ।
पोखराका कलाकार हरेराम जोजिजुले कार्यशालाले सम्पदा संरक्षणको सन्देश दिनुका साथै कलाको महत्व बढाएको बताउनुभयो । उहाँले खुला आकाश र परिवेशमा हुने यस्ता चित्रकला कार्यशालाले कलाकारको सिर्जनाशील दायरा थप फराकिलो हुने धारणा राख्नुभयो । “स्टुडियोमा मात्र बसेर कला सृजना गरिरहेको कलाकार प्रकृतिसँग जोडिन प्लेन एयर पेन्टिङको अवधारणा सुरु भएको हो”, उहाँले भन्नुभयो, “यस्ता कार्यशालामा स्थलमै पुगेर दृश्यचित्र उतार्ने गरिन्छ ।”
कार्यशालामा कालिका मन्दिरको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले यथार्थवादी शैलीमा चित्र कोरिएको उहाँले बताउनुभयो । कलाकारले एक्रेलिक र पानी रङका माध्यमबाट चित्र कारेका थिए । कलाको जगेर्नासँगै कलाकारको व्यावसायिक सुरक्षामा यस्ता कार्यशालाले सघाउ पुर्याउने कलाकार रञ्जित कुँवरले बताउनुभयो । ललितकला विषयमा स्नातक चौथो वर्षमा अध्ययनरत कुँवर पानी रङमार्फत कालिका मन्दिरलाई क्यानभासमा उतार्नुभएको थियो । उहाँसँगै ललितकला विषयमा अध्ययनरत पाँच जना कलाकार कार्यशालामा सहभागी थिए । समाजलाई कलाको महत्व बुझाउन र नयाँ पिँढीलाई कला सिकाउन जरुरी रहेको कुँवरले बताउनुभयो ।
शनिबारीय चित्रकला कार्यशाला अभियानका सचिव दिवेश प्रधानले कुनै बेला धनी र सम्भ्रान्त वर्गको मात्र पहुँचमा रहेको चित्रकला विस्तारै सर्वसाधारणसम्म आइपुगेको बताउनुभयो । शनिबारीय चित्रकला कार्यशालाई देशभर अभियानका रूपमा विस्तार गरिएको उहाँको भनाइ छ ।
“ऐतिहासिक सम्पदा, मठमन्दिरलगायत ठाउँमा पुगेर स्थलगत रूपमा चित्र कोर्ने, नयाँ पुस्तालाई चित्रकला सिकाउने गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “कार्यशालामा कोरिएका चित्र सङ्ग्रह गरेर प्रदर्शनीमा राख्ने, बिक्री–वितरण गर्ने गरिएको छ ।” अभियान सुरु भएपछि देशभरका कलाकार एकापसमा जोडिने र सहकार्य गर्ने वातावरण बनेको प्रधानले बताउनुभयो । कालिका मन्दिरले आफूसहित कार्यशालामा सहभागी कलाकारलाई सम्मोहित बनाएको उहाँले सुनाउनुभयो ।
मन्दिर परिसरको प्राकृतिक वातावरण, भौगोलिक अवस्थिति, ऐतिहासिक महिमा र सौन्दर्य कारण कालिका मन्दिरले आफूहरूलाई आकर्षित गरिरहेको प्रधानले बताउनुभयो । कालिका भगवती गुठीले पनि शनिबारीय चित्रकला कार्यशाला अभियान, बागलुङस्थित रन्तल आर्ट र मिलन ट्याटुसँग मिलेर कार्यशाला आयोजना गरेको हो ।
बागलुङका अग्रज कलाकार एवं रन्तज आर्टका सञ्चालक मच्छिन्द्र शाक्यले कालिका भगवती मन्दिरलाई कलाका माध्यमबाट देशविदेशमा चिनाउन चित्रकला कार्यशालाको आयोजना गरिएको बताउनुभयो । कार्यशालाले कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न मद्दत पुगेको उहाँको भनाइ छ । बागलुङसहित सिङ्गो धवलागिरि क्षेत्र कलाको उर्वरा भूमि भएकाले यस क्षेत्रमा कला गतिविधि बढ्नु जरुरी रहेको शाक्यले बताउनुभयो । कला क्षेत्र उपेक्षामा परेको भन्दै उहाँले यसको संरक्षण र जगेर्ना गर्ने दायित्व राज्यले लिनुपर्ने बताउनुभयो ।
पछिल्लो समय जिल्लास्तरमा पनि ललितकलाका गतिविधि छिटपुट रूपमा हुनुलाई सुखद् मान्नुपर्ने शाक्यले बताउनुभयो । राजधानी र ठूला सहरमा मात्र हुँदै आएका कला प्रवर्द्धनका कार्यक्रमलाई विकेन्द्रित गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ । कार्यशालामा सहभागी कलाकारले कालिका मन्दिरसहित त्यहाँ रहेका सम्पदालाई क्यानभासमा उतारेका थिए । मन्दिर गुठीका अध्यक्ष भूपेन्द्र खड्काले चित्रकलाका माध्यमबाट ऐतिहासिक महत्व बोकेको कालिका मन्दिरको महिमा थप उजागर हुने विश्वास व्यक्त गर्नुभयो ।
“बागलुङलाई नयाँ तरिकाबाट चिनाउने प्रयास हो, कालिका मन्दिरको आफ्नै महिमा छ, यो कार्यशालाले देशविदेशमा यसको महत्व थप वृद्धि हुनेछ”, उहाँले भन्नुभयो, “यसबाट कला र कलाकारको पनि सम्मान भएको हाम्रो बुझाई छ, कार्यशालामा सृजना गरिएका कला मन्दिरका अमूल्य सम्पत्तिका रुपमा रहनेछन् ।”
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 12, 2026
July 12, 2026
July 12, 2026
July 12, 2026
July 10, 2026
July 10, 2026
July 10, 2026
July 10, 2026
July 10, 2026
July 09, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .