इ चितवन खबर
July 10, 2026
नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा पूजाआजासँगै व्यायम गर्नका आउने मानिसहरुको सङ्ख्या बढ्दै गएको छ । महेन्द्र राजमार्गको गैँडाकोटबाट करिब चार किलोमिटर उत्तरमा पहाडको टाकुरामो रहेको यस मन्दिरमा स्थानीयहरु दैनिक व्यायम गर्नसमेत आउने गरेका छन् ।
धार्मिक सेवा समिति मौलाकालीका अध्यक्ष खगेन्द्रदास कँडेलले टाढाटाढाबाट देवी कालीको दर्शन गर्न श्रद्धालुहरु आउने गरेका उल्लेख गर्दै स्थानीयहरु पूजाआजासँगै दैनिक शारीरिक व्यायमका लागि आउने गरेका बताउनुभयो । “ऐतिहासिक शक्तिपीठको रुपमा रहेको यस मन्दिरमा नेपालबाट मात्रै नभएर भारतबाट समेत भक्तजन आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर, स्थानीय युवाहरु व्यायम गर्नका लागि दैनिक मन्दिरमा आउने गरेका छन् ।” कँडेलले सामान्य दिनको तुलनामा बिदाको दिनमा मन्दिरमा भक्तजनहरुको उपस्थिति बढी हुने बताउनुभयो । “मन्दिरमा दैनिक रुपमा दुई हजारभन्दा बढी श्रद्धालुहरु आएर दर्शन गर्नुहुन्छ”, अध्यक्ष कँडेलले भन्नुभयो, “शनिबारसहित बिदाको दिन तथा चाडपर्वमा भने यहाँ भक्तजनको अत्यधिक भीड हुने गरेको छ ।” मन्दिरमा विशेष गरी नवदुर्गा (ठूलो दसैँ), माघे सङ्क्रान्ति, सरस्वती पूजा, चैतेदसैँ, नयाँ वर्षजस्ता विशेष अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको कँडेलको भनाइ छ । “दसैँ र नयाँ वर्षमा यहाँ देवीको दर्शनका लागि आउने मानिसहरु पाँच–छ घण्टासम्म लाइन बसेर दर्शन गर्नुपर्ने अवस्था छ”, कँडेलले भन्नुभयो, “विशेष पर्वहरुमा हामीलाई यहाँको व्यवस्थापनमा निकै कठिन हुँदै आएको छ ।
समुद्री सतहबाट ५६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ । १६औँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सृजना गरेपछि यस पर्वत (मौला पहाड) को नाम रहन गएकाले यसको ऐतिहासिक महत्व भएको मन्दिरका मूल पुजारी क्षेत्रप्रसाद पराजुलीले बताउनुभयो । “सोह्रौँँ शताब्दीमा यस ठाउँ पाल्पा राज्यको रुपमा अवस्थित थियो । राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक स्थापना गरेका थिए”, उहाँ ले भन्नुभयो, “राजा यस ठाउँमा आएर स्नान र पूजा गर्थे । सेनाले भगवान्को आस्थास्वरुप देवीको स्थापना गरेर पूजा गर्ने गरेका थिए ।”
यहाँ रहेको मन्दिरको पुरानो संरचना विसं १९९० सालमा आएको भूकम्पमा सबै क्षति भएर मौलाकालिका माताको पूजा गर्ने ठाउँ जङ्गल हुन पुगेको पराजुलीले बताउनुभयो । “भूकम्पको करिब ४० वर्षपछि यसै ठाउँमा काशिनाथ पौडेल भन्ने ब्राह्मणलाई सपनामा सेतो कपडा लगाएकी महिलाले म देवी हुँ मलाई उद्धार गर, म एउटा ठूलो डाँडाको सालको रुखमुनि अलपत्र छु भनेर गइन् भन्ने गरिएको छ”, उहाँले भन्नुभयो, “भोलिपल्ट ती ब्राह्मणले छिमेकीलाई भन्न जाँदा कुमारसिंह गुरुङले उनको कुरामा विश्वास गरेर उनको सहयोगमा हात हतियार बोकेर जङ्गल फडानी गर्दा डाँडाको टुप्पामा ठूलो सालको रुख भेटाएको कुरा यहाँ प्रचलित छ ।” रुखको तल खोस्रिएर हेर्दा खिया लागेको घण्टी, ओखलको ढुङ्गा, भगवती कालिकाको शिला भेटाएपछि पूजा गर्ने ठाउँ बनाइएको पराजुलीले बताउनुभयो ।
“त्यहाँ उत्पत्ति भएको कालिकाको प्रभावले विभिन्न ठाउँबाट भक्तजनहरु आउन लागे” पराजुलीले भन्नुभयो, “आस्था र भक्तिको प्रभावले विभिन्न ठाउँबाट आएका भक्तजनहरुले मनकामना पूरा हुने बताउन थालेपछि भक्तजनहरु निरन्तर आउने क्रम बढेको छ ।” हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कालिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिने पराजुलीले बताउनुभयो । “मन्दिरलाई स्थानीयस्तरबाट धेरै पटक पुनःस्थापित गरिएको उहाँको भनाइ छ ।
सहरी क्षेत्रबाट नजिकै भएकाले पनि यहाँ देवी भगवतीको दर्शनसँगै स्थानीयहरु शारीरिक व्यायम गर्न आउनेहरुको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ । “रनिङ बढाउन तथा विभिन्न व्यायम गर्न हामी नियमितरुपमा मन्दिरमा आउने गरेका छौँ”, गैँडाकोटका शुभम् अधिकारीले भन्नुभयो, “लाहुरेको तयारीका लागि पनि फिजिकल फिटनेस आवश्यक हुने भएकाले नियमित मन्दिर ओहोरदोहोर गर्छु ।” नेपाली सेना, भारतीय सेना तथा ब्रिटिस आर्मीमा भर्ती हुनका लागि तयारी गरेका युवाहरु दैनिकरुपमा मन्दिरमा दौडिएर आउजाउ गर्छन् ।
गैँडाकोटको निजी कलेजबाट कक्षा १२ को परीक्षा दिएर बस्नुभएका समीर गुरुङले आफू शनिबार र बिदाको दिन मौलाकालिका मन्दिर पुग्ने गरेको बताउनुभयो । “ब्रिटिस लाहुने बन्ने इच्छा छ, त्यसैले मेहनत गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “हामी समूहमा मन्दिर उक्लन्छौँ, दौडेर मन्दिर पुग्नका लागि करिब २० मिनेट लाग्ने गरेको छ ।” जाडोमा भारी बोकेर मन्दिरको उकालो उक्लने गरेको भए पनि गर्मी महिनामा रित्तै दौडिने गरेको गुरुङको भनाइ छ ।
धनुषाको जनकपुरबाट मौलाकालिका दर्शन गर्न आउनुभएका रामनरेश यादवले अटो रिक्सामार्फत मन्दिर नजिकै पुग्न सहज भएको बताउनुभयो । “मौलाकालिका माताको महिमा सुनेर दर्शन गर्न आयौँ”, उहाँले भन्नुभयो, “देवघाटमा बैठकमा डाकेर आएका थियौँ, त्यसैको छेको पारेर मौलाकालिका माताको दर्शन गर्न आयौँ ।”
मौलाकालिका मन्दिरको फेदीमा गर्मी भइरहेको अवस्थामा मन्दिर पुगेर देवी भगवतीको दर्शन गर्दा र त्यहाँको वातावरणले आफूलाई छुट्टै प्रकारको खुसीको अनुभूति भएको यादवको भनाइ छ ।
योगका अगुवा राम देव, आचार्य बालकृष्णले पनि सन् २०११ मा मन्दिरको दर्शन तथा भ्रमण गर्नुभएको थियो । सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार ८८२ सिँढी उक्लनुपर्छ । अहिले मन्दिर जानका लागि पैदल यात्रासँगै साना सवारीसाधन एवं केबलकारले सहज बनाएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 10, 2026
July 09, 2026
July 09, 2026
July 09, 2026
July 09, 2026
July 08, 2026
July 08, 2026
July 08, 2026
July 08, 2026
July 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .