इ चितवन खबर
March 11, 2025
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अबको दुई महिनासम्म यहाँको तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला वा जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रम गर्न रोक लगाएको हो ।
काठमाडौँका प्रमुख जिल्ल्ला अधिकारी ऋषिराम तिवारीले त्यसरी कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उछृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भीडन्त एवं हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने हुँदा अन्तरराष्ट्रिय अभ्यास र यसअघि अदालतबाट भएको आदेश एवं फैसलालाई मध्यनजर गरी उक्त आदेश जारी गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम विगतदेखि कै निरन्तरताको रूपमा देहायको क्षेत्रमा आइतबारदेखि लागू हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो ।
साथै देहायका निषेध आदेश जारी गरिएका क्षेत्रबाहेक स्थानमा नेपालको संविधान बमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं विना हातहतियार शान्तिपूर्ण रुपमा भेला भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेको प्रति स्थानीय प्रशासन सदैव प्रतिबद्ध रहेको जनाइएको छ ।
जारी आदेशमा भनिएको छ, “संविधान एवं प्रचलित कानुन प्रदत्त अधिकारको प्रयोग हुने गरी गरेका विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी र अति भएमा स्थानीय प्रशासन ऐन २०२८ तथा सार्वजनिक प्रदर्शन, हडताल, तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कनसम्बन्धी कार्यविधि, २०८१८ बमोजिम क्षतिको मूल्याङ्कन गरी आयोजकबाट नै त्यस्तो क्षतिपूर्ति वापतको रकम असुल उपर गराइने व्यहोरा सम्बन्धित सबैमा स्मरण गराइएको छ ।”
धर्ना जुलुस गर्न नपाइने स्थलहरु
शीतलनिवास (राष्ट्रपति कार्यालय महाराजगञ्ज क्षेत्र) को उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्वदक्षिणतर्फ सामाखुसी जाने मोटदेखि १०० मिटर दक्षिणसम्म, दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म निषेध स्थल तोकिएको छ ।
त्यसैगरी हरित गृह (उपराष्ट्रपति कार्यालय) लैैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म निषेधाज्ञा क्षेत्र निर्धारण गरिएको छ ।
सिंहदरवार क्षेत्र अन्तर्गत भद्रकाली मन्दिर (तिनकुने आइल्याडको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म । त्यसैगरी पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरवारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वीगेट हुँदै हनुमानस्थान मन्दिरसम्म, सिहदरवार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म, पुरातत्व विभागको चोकदेखि सिंहदरवार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मारदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म निषेधाज्ञा क्षेत्र निर्धारण गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रको बालुवाटार पवित्र वर्कशप चोकदेखि नेपाल राष्ट्र बैंक हुँदै इटालिया चोक र सो चोकदेखि भाटभटेनीतर्फ ५० मिटरसम्म, इटालिया चोकदेखि पश्चिमतर्फ राष्ट्रियसभा अध्यक्षको निवाससम्म र सो निवासदेखि गैह्रीधारा जाने सडकतर्फ १०० मिटरसम्म निषेधाज्ञा स्थल तोकिएको छ । प्रधानमन्त्री निवासको उत्तरपूर्वी मोडदेखि प्रधान न्यायाधीश निवासको मोडसम्म र सो मोडदेखि पश्चिमतर्फ १०० मिटरसम्म, प्रधानन्याधीश निवासको मोडदेखि पूर्वदक्षिणतर्फ राष्ट्रियसभा अध्यक्षको निवासको मोडसम्म, राष्ट्रबंैक चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म निषेध स्थल तोकिएको छ ।
संसद् भवन नयाँ बानेश्वर क्षेत्र अन्तर्गत संसद् भवनको चारैतर्फको सडक क्षेत्र, संसद् भवनको दक्षिणपूर्वी मोडदेखि पूर्वतर्फ ३०० मिटरसम्म, बानेश्वर चोकदेखि पश्चिमतर्फ ३०० मिटरसम्म निषेधाज्ञा स्थल तोएिको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 27, 2025
August 15, 2025
May 29, 2025
April 08, 2025
March 04, 2025
February 27, 2025
February 27, 2025
February 25, 2025
February 25, 2025
February 24, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .