काठमाडौंमा यसरी घटाउन सकिन्छ वायु प्रदूषण

- प्रकाश रेग्मी

इ चितवन खबर

August 07, 2025

यदि वायु प्रदूषणबाट प्रत्यक्ष तथा अप्रत्यक्ष कारणले हुने मृत्यु तथा कम उमेरमा हुने मृत्युलाई घटाउने हो भने नेपालीको औसत आयु ७५ वर्ष हुन जान्छ। नेपालको संघीय राजधानी काठमाडौंलाई बारम्बार खराब हावाको गुणस्तर भएको सहरमा उल्लेख गरिन्छ। सन् २०२४ को एक रिपोर्टका अनुसार काठमाडौंलाई विश्वका सबैभन्दा प्रदुषित सहरहरूमध्ये एक उच्च स्थानमा राखेको छ। विशेष गरी सुख्खा मौसममा (अक्टोबर देखि-मे महिना) काठमाडौंको वायु प्रदूषणको दर उच्च देखिन्छ। सन् २०२४ अप्रिल १० का दिन काठमाडौंको वायु गुणस्तर सूचकांक २६५ मा पुग्यो, जसले गर्दा यो विश्वको सबैभन्दा प्रदुषित सहर सूचीको शीर्ष स्थानमा रह्यो। यो वृद्धि मुख्यतया नेपालभरि व्यापक रूपमा फैलिएको डढेलोको कारण भएको ठम्याइएको थियो।

 

वायु प्रदूषण भनेको पृथ्वीको सतह भन्दामाथि प्राकृतिक रूपमा रहेको हावामा अतिरिक्त पदार्थहरूको मिश्रणले गर्दा प्राकृतिक रुपमा रहेको हावाको संरचनामा आउने परिवर्तन, वायु प्रदूषण हो। यसको सन्दर्भमा कुरा गर्दा वायुमण्डलको सबैभन्दा तल्लो तह (ट्रोपोस्फियर, पृथ्वीको सतहबाट १२ किलोमेटर उचाइसम्म) जहाँ जीवजन्तु र वनस्पतीको अस्तित्व रहन्छ, वायुमण्डलको त्यो तहको विश्लेषण गरिन्छ। वायु प्रदूषणका प्राकृतिक स्रोतहरूमा ज्वालामुखी विस्फोट, डढेलो, हावाले उडाएको धुलो र सड्ने जैविक पदार्थबाट उत्सर्जन हुने पदार्थहरू हुन्। जसले हावाको प्राकृतिक संरचनामा परिवर्तन गर्दछ। त्यस्तै, मानवीय क्रियाकलापका कारण सिर्जित स्रोतहरू १. मोबाइल स्रोतहरू (कार र ट्रकहरू बसहरू, हवाइजहाज, रेल तथा निर्माण र कृषि उपकरणहरू) र २. स्थिर स्रोतहरू (विद्युतीय प्लान्टहरू जस्तै कोइला, तेल, ग्यास, औद्योगिक सुविधाहरू, जस्तै कारखाना, रिफाइनरी र रासायनिक प्लान्टहरू) हुन्। 

 

काठमाडौंको भू-बनोट एक कचौरा आकारको रूपमा रहेको छ। काठमाडौं उपत्यका, उच्च जनसंख्या घनत्व भएको, यसको वरपर जंगलसहितको उच्च पहाडहरूले घेरिएको स्थानमा अवस्थित छ। काठमाडौं वरपर देखिएको वनको उपयोग र व्यवस्थापनमा हुने कमजोरी, खेतीपाती गर्ने तौर तरिका र यसबाट निस्कने उपउत्पादनहरुको व्यवस्थापनमा हुने अभ्यासहरूका कारण सिर्जना हुने कण वस्तुहरु सतहमाथिको हावामा मिसिन जाँदा काठमाडौं उपत्यकाको वायु प्रदूषणलाई थप बढावा गर्ने गरेको छ। यसरी विश्वका प्रदुषित सहरमध्ये काठमाडौं कहिले पहिलो त कहिले दोस्रो स्थानमा रहँदै आएको छ।

 

वायु प्रदूषणको प्रभाव : स्टेट अफ ग्लोबल इयर २०२० को तथ्यांकअनुसार नेपालमा वार्षिक ४२ हजारभन्दा बढी मानिसको मृत्यु, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वायु प्रदूषणसँग जोडिएको छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान तथा वीर अस्पतालका परामर्शदाता डा. लोचन कार्कीका अनुसार वायु प्रदूषणले नेपालीको औसत आयु तीन वर्षले घटेको छ। केन्द्रीय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु हाल ७२ वर्ष छ। यदि वायु प्रदूषणबाट प्रत्यक्ष तथा अप्रत्यक्ष कारणले हुने मृत्यु तथा कम उमेरमा हुने मृत्युलाई घटाउने हो भने नेपालीको औसत आयु ७५ वर्ष हुन जान्छ।

 

वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ। प्रदूषणले दम, ब्रोङकाइटिस, निमोनिया, फोक्सोको क्यान्सर, मुटुरोग, हाइपर टेन्सन, मस्तिष्कघात लगायतको समस्या बढाउने फिजिसियन डा. लोचन कार्की बताउँछन्। ‘वायु प्रदूषणले अल्पकालीन र दीर्घकालीन रोगको जोखिम बढाउँछ। त्यस्तै, दम, आस्थमा, फोक्सोको क्यान्सर, छालाको एलर्जीलगायतका विभिन्न किसिमका रोग लाग्ने सम्भावना बढाउने फिजिसियन डा. कार्की बताउँछन्।

 

काठमाडौंको वायु प्रदूषण स्थितिको विश्लेषण :

वायु गुणस्तर सूचकांक, हावामा हुने धुल कणहरूको मात्राको आधारमा गरिन्छ। अर्थात् प्रतिघनमिटर वायुमा कति मात्रामा र कुन साइजका धुल कण छन् भनेर गणना गरिन्छ। प्रतिघनमिटर वायुमा ५० क्युविक माइक्रोमिटर भन्दा कम मात्रामा धुल कण छन् भने त्यो वायुलाई शुद्ध हावा मानिन्छ। त्यो भन्दामाथि ५० देखि १०० सम्म सन्तोषजनक,  १०० देखि १५० सम्म मध्य, १५० देखि २०० सम्म संवेदनशील २०० देखि ३०० अस्वस्थ र ३०० भन्दामाथि खतरनाक वर्गमा राखिन्छ। एक रिपोर्ट अनुसार सन् २०२५ को पहिलो ३ महिनाको ९० दिन मध्ये ७५ दिन काठमाडौंको वायु गुणस्तर सूचकांक संवेदनशील अवस्थामा थियो। सोही रिपोर्टले सन् २०२५ को अप्रिल ३ का दिन सबैभन्दा बढी अथवा काठमाडौंको वायु गुणस्तर सूचकांक ३६५ रहेको देखाएको छ।

 

जुलाई महिनामा धेरै पानी पर्ने भएकाले सामान्यतया काठमाडौंको वायु गुणस्तर सूचकांक स्थर कम नै हुने गर्दछ। यद्यपि, यस लेख लेख्ने क्रममा सन् २०२५ को जुलाई महिनाको २३ तारिख बिहान ५ बजे र सोही दिन बेलुकी ५ बजे (सबैभन्दा कम सवारी चल्ने समय बिहान ५ बजे र सबैभन्दा बढी सवारी चल्ने समय बेलुकी ५ बजे) को छुट्टाछुट्टै जम्मा १२५ वटा नमुना बिन्दुहरूको रियल टायम डाटा, सेटलाइटबाट तानेर छोटो विवेचना गर्ने प्रयास गरिएको छ। 

 

वायु गुणस्तर सूचकांक (जुलाई २३, २०२५) : समग्रमा हेर्दा कालिमाटी, ताहाचल, बल्खु, रत्नपार्क, ठमेल तथा टेकु क्षेत्रमा दुवै समयमा बढी वायु प्रदूषण भएको देखिन्छ। बिहानको १२५ वटा नमुना स्थानहरूको वायु गुणस्तर सूचकांक, रियल टायम डेटा अनुसार ५२ वायु गुणस्तर सूचकांकदेखि ६९ वायु गुणस्तर सूचकांकसम्म देखिएको थियो। यसरी १२५ बिन्दुहरूको वायु गुणस्तर सूचकांक हिसाब गर्दा काठमाडौंको रिङरोडभित्रको औसत वायु गुणस्तर सूचकांक ६० रहेको थियो, जुन मात्रा ५० भन्दामाथि छ। सबैभन्दा कम वायु गुणस्तर सूचकांक भएका क्षेत्रहरूमा चण्डोल, थापाथली, टंङ्गाल, अलोक नगर, अलकापुरी स्कुल, लाजिम्पाट, बालुवाटार, नयाँ बानेश्वर, भाटभटेनी, प्रज्ञा मार्ग, सानेपा, जमुना गल्लि, पुलचोक क्रिकेट मैदान तथा पाटन ढोका रहेका थिए। त्यस्तै, बिहानको समयमा सबैभन्दा बढी वायु गुणस्तर सूचकांक भएका क्षेत्रहरूमा कुलेश्वर, नेपाल टेलिकम, कल्धरा, खड्का चोक, कुलेश्वर, विश्वविद्यालय मार्ग, गौरीशंकर सडक, लेचातम मार्ग, छाउनी र ताहाचल क्षेत्र देखिन्छन्। 

 

बेलुकीको १२५ वटा नमुना स्थानहरूको वायु गुणस्तर सूचकांक, रियल टायम डेटा अनुसार ७१ वायु गुणस्तर सूचकांकदेखि ७९ वायु गुणस्तर सूचकांकसम्म देखिएको थियो। यसरी १२५ बिन्दुहरूको वायु गुणस्तर सूचकांक हिसाब गर्दा काठमाडौंको रिङरोडभित्रको औसत वायु गुणस्तर सूचकांक ७५ रहेको थियो, जुन बिहानको औसत गुणस्तर सूचकांक भन्दा १५ ले बढी हो।  बेलुकीको समयमा सबैभन्दा कम वायु गुणस्तर सूचकांक भएका क्षेत्रहरूमा जमुना गल्ली, पाटन ढोका, चण्डोल, टंङ्गाल, आलोकनगर, अलकापुरी स्कुल, बालुवाटार, भाटभटेनी, प्रज्ञा मार्ग, कोटेश्वर, लाजिम्पाट र नयाँ बानेश्वर हुन्। त्यस्तै, बेलुकाको समयमा सबैभन्दा बढी वायु गुणस्तर सूचकांक भएका क्षेत्रहरूमा सोल्टीमोड, केशरमहल, कल्धरा, खड्का चोक, कुलेश्वर, विश्वविद्यालय मार्ग, गौरीशंकर सडक, लेचातम मार्ग, कलधारा, ताहाचल, कुलेश्वोर, छाउनी, रत्नपार्क, लाजिम्पाट, र रविभवन रहेका छन्। 

 

वायु प्रदूषण निराकरणका उपाय :

नेपालको संविधान २०७२ को धारा ३० ले स्वच्छ र स्वस्थ वातावरणको अधिकारको ग्यारेन्टी गरेको छ। देशभित्र रहेका प्रत्येक नागरिकलाई स्वस्थ र स्वच्छ वातावरणमा बाँच्ने अधिकार संविधानले प्रदान गरेको छ। संविधानले प्रदान गरेको  यस प्रावधानलाई कार्यान्वयन गर्न प्रत्येक नागरिक, समुदाय, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका आ-आफ्नै स्तरका कामहरू गर्न जरुरी देखिन्छ।

 

१. समुदायस्तर : काठमाडौंको वायु प्रदूषणका लागि सतहबाट उडेर जाने धुलका कणहरू एक प्रमुख कारण हो। प्रत्येक आवासीय घरहरू, व्यावसायिक भवनहरू र औद्योगिक भवनहरूका आ-आफ्नो स्वामित्वमा रहेका खाली जमिनमा धुलो ढाक्ने खालका बिरुवाहरू (जस्तै दुबो) लगाउनको लागि अभिप्रेरित गरी त्यसको अनुगमन गर्न स्थानीय तहका टोल विकास संस्थालाई जिम्मेवार बनाउन सकियो भने वायु प्रदूषण कम गर्न सकिन्छ र यसलाई नियमित रुपमा अनुगमन गरी सामाजिक सम्मान तरिकाको पुरस्कार र सजायको व्यवस्था गर्न सकियो भने वायु प्रदूषण कम गर्नमा स्थानीय समुदायको सहभागिता प्रभावकारी हुन सक्छ। यसका लागि महानगरीय वातावरण संरक्षण अन्तर्गतको रकम परिचालन गर्न सकिन्छ।

 

२. स्थानीय सरकारस्तर : स्थानीय सरकारका निकायहरूलाई वायु प्रदूषणको कारण, यसबाट हुन सक्ने हानी र सामाधानका उपायहरूको बारेमा सूचित गर्न वातावरण विशेषज्ञहरूबाट लेख रचना प्रकाशित तथा तालिम र कार्याशाला गोष्ठीहरूको नियमित सञ्चालन हुन जरुरी देखिन्छ। यस सन्दर्भमा प्रेरणता एक धारणा यसरी राख्न चाहन्छ। पानीको फैलावटको सतह बढ्दै जाँदा पानीमाथि रहेको हावामाको आर्द्रता बढ्न जान्छ।

१. यस प्रक्रियाले पानी पर्न सक्ने सम्भावनालाई बढाउँदछ।

२. हावामा पानीको मात्रा बढ्न जाँदा हावामा रहेका धुलोका कणहरूको तौल बढ्न गई थिग्रने क्रम बढ्दछ।

३. काठमाडौंका नदीहरू बीचबीचमा हिउँदको समयमा अस्थायी चेक ड्याम निर्माण गरी पानीको फैलावट बढाउँदा, नदी तटीय क्षेत्रमा हुने सार्वजनिक अतिक्रमणको दरलाई घटाउन सकिन्छ

४. काठमाडौंको जमिन मुनिको जल भण्डार लाई पुनर्भरण गर्न सहयोगी हुन सक्ने कुरामा यस स्तम्भकार विश्वास गर्दछ।  त्यसैले, वर्तमान समयमा महानगरको नेतृत्व गरिरहेका निर्माण इंजीनियर समेत रहेका नगर प्रमुखले यस्तो किसिमको एक परियोजना रूपमा परीक्षण गर्न पाए कस्तो होला भन्ने भन्ने विचार राख्न चाहन्छु।

 

३. प्रदेशस्तर :

विज्ञान र प्रविधिको विकाससँगै हालका दिनहरूमा घरभित्र र घर बाहिर प्रयोग हुने खालका हावा शुद्ध गर्ने मेसिनहरू बजारमा आउन थालेका छन्। आम्दानी राम्रो भएका परिवारले आफैं यस्ता किसिमका मेसिनहरू खरिद गरेर प्रयोग गर्न सक्दछन्। आम्दानी कम भएका परिवारका लागि सार्वजनिक निजी साझेदारीको अवधारणा मुताविक अत्याधिक वायु प्रदूषण भएका क्षेत्रका कम आम्दानी भएका परिवारमा लागू गरी वायु प्रदूषणको प्रभावलाई कम गर्न सकिन्छ। त्यस्तै, बढी वायु प्रदूषण गर्ने खालका उद्योगहरूमा बाहिरी हावा शुद्धीकरण मेसिनहरू जडान गरी आफ्नो उद्योग वरपरको हावा शुद्ध गर्न सहयोगी हुन सक्दछ जसमा प्रादेशिक सरकारले भूमिका खेल्न सक्दछ।    

 

४. संघीय तह : संघीयस्तरमा वायु प्रदूषण कम गर्न नितिगत रुपमा काम गर्न सकिन्छ। काठमाडौंको हकमा वायु प्रदूषणको मुख्य स्रोतहरूमा घना आवादी भएका क्षेत्रहरूमा इतिहासकालदेखि रहेका उद्योगहरू जस्तै इँटाभट्टा, यातायात उद्योगहरू, टेस्टाइल उद्योगहरू र डिस्टिलरीहरू मुख्य रूपमा वायु प्रदूषणका स्रोतहरू हुन्। यस्ता किसिमका उद्योगहरूलाई घना आवादी भएका क्षेत्रबाट कम आवादी भएका क्षेत्रहरूमा स्थानातरण गर्न, कर प्रणालीमा परिमार्जन तथा सम्भावित गन्तव्य स्थानहरूमा आधारभूत पूर्वाधारको विकास गर्ने काम संघीय सरकारले गर्न सक्दछ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

July 01, 2026

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

July 01, 2026

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

June 30, 2026

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

June 30, 2026

१६७ भाषामा अध्ययन गर्न मिल्ने गरी नेवाः सांस्कृतिक ज्ञानकोष अनलाइनमा

June 29, 2026

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर

June 29, 2026

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

June 29, 2026

कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

June 29, 2026

असार १६ र १७ गते भारी वर्षाको सम्भावना

June 29, 2026

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

June 29, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .