इ चितवन खबर
December 14, 2025
भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुनेछन् ।
ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको काख सल्लाघारीमा कलात्मक ढङ्गबाट बनाइएको मञ्च आकर्षणको केन्द्र बन्यो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको एक सय आठ रोपनी चौरमा उपस्थित अधिकांश सहभागीले उक्त ऐतिहासिक मन्दिरका बारेमा चासो राख्दै घुमफिर तथा दर्शन गर्ने सन्दर्भमा एकापसमा कुराकानी गरिरहेको सुनिन्थ्यो । ओखलढुङ्गाबाट महाधिवेशनस्थलमा आउनुभएका सन्तोष खड्काले चाँगुनारायण मन्दिरलाई स्टेजमा देखेर मन्दिर पुग्न मन आतुर भएको बताउनुभयो । साथीहरूसहितको टोलीले मन्दिर अवलोकन गर्ने जानकारी दिनुभयो ।
खड्काले भन्नुभयो, “चाँगुनारायण मन्दिर अहिलेसम्म पुगेका छैनाँै, महाधिवेशनको उद्घाटन सत्रअन्तर्गत मञ्च व्यवस्थापनका क्रममा निर्माण गरिएको मन्दिरको संरचना देख्दा त्यहाँ पुग्न मन लाग्यो, नजिकै रहेछ, अब चाँगुनारायण मन्दिर जाने भयौँ ।”
त्यसैगरी, खोटाङबाट आउनुभएका रवीन्द्र श्रेष्ठ महाधिवेशनमा बनाइएको ‘स्टेज’ले इतिहास र धार्मिक महत्वको मात्र प्रचार गरेन, मन्दिरको महत्वसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताउनुहुन्छ । स्टेजमा देखिएको मन्दिरको आँगनमा प्रत्यक्ष पुग्न अधिकांश सहभागी लालायित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महाधिवेशनका क्रममा काठमाडौँ आएका बेला अब एकपटक मन्दिर पुगिन्छ, साथीभाइसँगै घुमफिर गरी मन्दिरको दर्शन पनि गरिन्छ ।”
सांस्कृतिक झाँकी, न्याउली बाजादेखि जङ्कुसम्मले थप्यो रौनक
एमालेको महाधिवेशनमा समावेश गरिएका विभिन्न जातजाति, वेशभूषा एवं कला र संस्कृति झल्कने बाजागाजा, झाँकी एवं नृत्यदेखि नेवार समुदायमा ज्येष्ठ नागरिकले मनाउने जङ्कुसमेतको प्रदर्शनले महाधिवेशनको उद्घाटनसत्रलाई रौनकता थपेको देखिन्थ्यो । भक्तपुरका चारवटै पालिकाबाट आएका बाजागाजासहितको र्यालीमा धिमेबाजा, बैण्डबाजा, बाँसुरी बाजा, न्याउली बाजासहित नेवार सुमदायका महिलाले लगाउने पहिरन हाकुपटासीमा नृत्य, मगर, लामालगायत विभिन्न जातजातिको सांस्कृतिक झल्कोसहितको नृत्य, झाँक्री नृत्यलगायतको प्रदर्शनले उद्घाटनस्थललाई रोमञ्चित बनाएको थियो ।
त्यसैगरी, विभिन्न जिल्लाबाट आएका सहभागी सम्मिलित स्थानीय बाजा तथा सांस्कृतिक नाचसहितको र्याली हेर्नलायक देखिन्थ्यो । सहभागीहरू स्वःस्फूर्त रूपमा नाचगान गर्दै रमाइरहेका देखिन्थे । सल्लाघारीस्थित चौरमा कोही भाषण सुन्नमै मस्त थिए भने केही चौरमा विभिन्न जातजातिको पहिचान बोकेको नृत्यमाण्डलीसँगै मिसिएर नाचगान गर्न तल्लिन देखिन्थे ।
कार्यक्रमस्थलमा भक्तपुरको नेवार समुदायले ९९ वर्षीया हजुरआमालाई जङ्कुको भेषमा सिङ्गारिएको रथमा राखी ६ छोरानातिले बोकेर कार्यक्रमस्थलको अग्रभागमा प्रवेश गर्दा निकै रौनकता थपेको थियो । यस किसिमको जीवन्त संस्कृति र पहिचानलाई ७७ जिल्लाकै सहभागीले देख्ने, जान्ने मौका पाए । कार्यक्रम सम्पन्न हुने बेलासम्म पनि विभिन्न झाँकी एवं नाच प्रदर्शन भइरहेका थिए भने उद्घाटनसत्रको स्टेजमा समेत कार्यक्रमका बीचबीचमा विभिन्न गीत, नृत्य एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
एमालेको १०औँ महाधिवेशनका क्रममा चितवनमा सडक अवरुद्ध भई जनजीवन अस्तव्यस्त भएको पाठबाट सिकी यसपटक एमाले भक्तपुर जिल्ला कमिटीले सम्बद्ध सुरक्षा निकायका पदाधिकारीसँग समन्वय गरी तयार गरेको रुटमा र्याली निकाल्दा कुनै पनि सडकमा कुनै पनि बाधाव्यवधान हुन पाएन । उल्लेखनीय जनसहभागिता रहे पनि काठमाडौँबाट भक्तपुर हुँदै काभ्रे जाने मुख्य सडक अरनिको राजमार्ग दिनभर सञ्चालनमा रह्यो ।
धरैले र्याली अव्यवस्थित भई सडक अवरुद्ध हुने आकलन गरिरहेको अवस्थामा गठ्ठाघर र जगातिबाट आएको र्याली ६ लेन सडकको ‘सर्भिस ट्रयाक’मात्र प्रयोग गरेको देखिन्थ्यो । दिनभर नै सवारीसाधन कुदिरहेका देखिन्थे । एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले पार्टीले र्याली आउने रुट निर्धारण गर्दै सर्भिस ट्रयाकमात्र प्रयोग गर्न ठाउँठाउँमा स्वयंसेवक र जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी परिचालन गरेकाले सडक अवरुद्ध नभएको बताउनुभयो ।
जुजुधौ बिक्रेतादेखि साना व्यापारी खुसी
एमालेको उद्घाटनस्थलमा भक्तपुरको पहिचान बोकेको जुजुधौदेखि नवारी खाजासम्मका परिकारले सहभागीलाई सहज मात्र बनाएन विशेषगरी साना व्यापारी लाभान्वित भए । चौरको पश्चिम कुनामा राखिएको खाजाका केही कक्षमध्ये ‘जय शम्भो जुजुधौ सेन्टर’ले विभिन्न जिल्लाबाट आएका सहभागीलाई देशभर प्रख्यात भक्तपुरको उत्कृष्ट जुजुधौ खुवाउन पाएकामा खुसी व्यक्त गरेको छ । व्यवसायी कान्छाराम सैँजुले व्यापार राम्रो भएर खुसी भएको बताउँदै विभिन्न जिल्लाबाट आएका नेपाली दाजुभाइ, दिदीबहिनीलाई जुजुधौ खुवाउन पाउँदा थप खुसी लागेको बताउनुभयो ।
नजिकै मःमः व्यापारीले पनि राम्रो व्यापार गरेको बताउँदै पश्चिमतर्फको नेवारी खाजाघरमा समेत दिनभरका भीडले निकै राम्रो व्यापार भएको रामप्रसाद श्रेष्ठले बताउनुभयो । बदाम, सुन्तलादेखि विभिन्न परिकार बिक्री राम्रो भएको भन्दै बदाम व्यापारी अनिल भजुले आज एकैदिन एक सातामा बिक्री हुने बदाम बिक्री गरेको बताउनुभयो ।
महाधिवेशन उद्घाटनस्थलको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले तीन तहको सुरक्षा तैनाथ गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई साँझसम्म नै मजबुत बनाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँले बिहान ‘बम डिटेक्टर’ उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरेको, सभास्थलमा राखिएका सिसी क्यामेराबाटसमेत निगरानी गरेको बताउनुभयो ।
सहभागीको उल्लेख्य उपस्थिति
दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको उद्घाटन कार्यक्रममा ७७ वटै जिल्लाका सहभागीले एक सय आठ रोपनी क्षेत्रफल भरिएको थियो । महाधिवेशन उद्घाटनका अवसरमा भरिएको चौरमा कतिपय आउने र फर्कनेक्रम जारी रहेकाले सहभागी सङ्ख्या एकिन गर्न कठिन भएको थियो ।
अपेक्षा गरिएभन्दा बढी व्यक्तिको उपस्थिति रहेको एमाले भक्तपुर जिल्ला उपाध्यक्ष किरण थापामगरले जानकारी दिनुभयो । उहाँले टाढासम्म रहेका सहभागीले वक्तालाई देख्ने र बोलेको सुनिनेगरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखेको र मञ्चबाट तीन किलोमिटर परसम्म सुन्न सकिने एक सय १५ उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरेकाले सल्लाघारी चौरभन्दा बाहिर रहेका हजारौँले नेताको सम्बोधन सहजै सुन्न सक्नेगरी व्यवस्था मिलाइएको बताउनुभयो ।
पार्किङमा भएन समस्या
महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधन तोकिएको क्षेत्रमा पार्किङ गरिएकाले कुनै समस्या झेल्नु नपरेको उपाध्यक्ष थापामगरले जानकारी दिनुभयो । थानकोट हुँदै विभिन्न जिल्लाबाट आएका सवारीसाधनलाई नागरिक उड्डयन प्राधिकरण गठ्ठाघरको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातिस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएकाले सवारी व्यवस्थापनमा सहज भएको एमाले जिल्ला अध्यक्ष देउजाले स्पष्ट पार्नुभयो ।
आन्तरिक पर्यटन प्रवर्द्धनका टेवा
महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधि एवं कार्यकर्ता कार्यक्रमस्थलबाट भक्तपुर नगरपालिकाभित्रका सम्पदाको अवलोकन गर्न पुगेका देखिन्थ्यो । कतिपय कार्यक्रम सकिनु अगाडि नै र कतिपय कार्यक्रम सकिएपछि भक्तपुर दरबार स्क्वायरमा रहेको ५५ झ्याले दरबार, पाँचतले मन्दिरलगायतका सम्पदा अवलोकनका लागि त्यसतर्फ लामबद्ध देखिन्थ्यो ।
महाधिवेशनमा आएर शनिबार नफर्किएकाहरु आज भक्तपुरका सम्पदा, मध्यपुरथिमिका सम्पदा र चाँगुनारायणको सम्पदा अवलोकनका लागि जाने भएकाले यहाँको आन्तरिक पर्यटनमा केही हदसम्म सहयोग पुग्ने देखिन्छ । भक्तपुर नगरपालिकाका रामचन्द्र प्रजापति भक्तपुरको सम्पदा अवलोकनका लागि महाधिवेशनमा आएकाले भक्तपुरको प्रमुख बजार तथा सम्पदा क्षेत्रमा दिनभर भीडभाड लागेको, विशेषगरी होटल तथा रेष्टुराँले मनग्य आम्दानी गरेको, जुजुधौ अत्यधिक बिक्री भएको, पेय पदार्थसहित बदाम र सुन्तलाको व्यापार अत्यधिक भएको बताउनुहुन्छ ।
उद्घाटनस्थलको सरसफाइ
महाधिवेशन उद्घाटनस्थलको सरसफाइ र व्यवस्थापन शनिबार साँझदेखि सुरु भएको छ । चौरमा फालिएको फोहर सबै सफा गरिने पार्टी उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमस्थलको सबै सरसफाइ शनिबार रातिसम्म सक्छाँै, अस्थायी शौचालयको व्यवस्थापन गर्छौँ, मञ्चलाई आज नै भत्काएर आज भृकुटीमण्डपमा राख्नेगरी आवश्यक तयारी गरेका छौँ ।”
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 25, 2026
April 14, 2026
April 13, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 07, 2026
April 05, 2026
April 02, 2026
March 29, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .