मनसुन अवधिमा सरदर भन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान

इ चितवन खबर

May 08, 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ । आज विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रममार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । 
 
 
मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतीकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो । उहाँले आगामी जेठ १८ देखि असोज १४ सम्म रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिनुभयो ।
 
 
उहाँका अनुसार विभागले विश्व मौसम सङ्गठनअन्तर्गत विश्व तथा क्षेत्रीय जलवायु सूचना उत्पादन केन्द्रहरूको हावापानी प्रारूप, दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)लगायतका अन्तरराष्ट्रिय जलवायु मोडेलहरूको विश्लेषणका आधारमा मनसुनको ऋतुगत आकलन तयार गरेको हो ।
 
 
आकलनमा पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल–निनो साउदर्न ओस्सिलेसन (इएनएसओ), हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डाइपोल (आइओडी), युरोप तथा एसियामा हिउँद र प्रिमनसुन अवधिमा परेको हिमपात तथा अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत आधार बनाइएको विभागले जनाएको छ ।
 
 
हाल प्रशान्त महासागरमा इएनएसओ तटस्थ अवस्थामा रहे पनि एल–निनोतर्फ उन्मुख रहेको तथा हिन्द महासागरमा विकसित हुने आइओडी पनि अहिले तटस्थ अवस्थामा रहेको हुमागाईँले बताउनुभयो । उहाँका अनुसार आगामी मनसुनको अन्त्यसम्ममा आइओडी सकारात्मक अवस्थामा पुग्ने सम्भावना विभिन्न विश्वव्यापी जलवायु मोडेलहरूले देखाएका छन् ।
 
 
यद्यपि, ऋतुगत जलवायु समुद्री तथा वायुमण्डलीय प्रणाली, भूउपयोगलगायत विविध कारकमा निर्भर रहने भएकाले जलवायु प्रारूपहरूलाई शतप्रतिशत विश्वसनीय मान्न कठिन हुने उहाँले स्पष्ट पार्नुभयो ।
 
 
गत वर्षको मनसुनको समीक्षा गर्दै उहाँले विभागले २०८२ सालको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरे पनि देशका धेरैजसो केन्द्रमा सरदरभन्दा कमदेखि सरदर वर्षा मापन भएको जानकारी दिनुभयो । केही स्थानमा भने सरदरभन्दा बढी वर्षा भएको थियो ।
 
 
तापक्रमतर्फ भने विभागको आकलनअनुसार नै अधिकांश स्थानमा सरदरभन्दा बढी अधिकतम तथा न्यूनतम तापक्रम रेकर्ड भएको उहाँले बताउनुभयो ।
 
 
विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
 
 
त्यस्तै, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग तथा कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।
 
 
कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताइएको छ । बाँकी अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आकलन छ ।
 
 
साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न भूभागमा सरदरभन्दा बढी तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
 
 
त्यस्तै, देशभर सरदरभन्दा न्यूनतम तापक्रम बढ्ने विभागको निष्कर्ष छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको बताइएको छ ।
 
 
विभागअन्तर्गत हावापानी विश्लेषण शाखाका इञ्जार्ज सुजन सुवेदीले मनसुन नेपालको सबैभन्दा संवेदनशील मौसम प्रणाली भएको उल्लेख गर्दै वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुन अवधिमै हुने जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष मनसुन औसतभन्दा १५ दिन अगाडि नेपाल प्रवेश गरेको थियो भने बहिर्गमन आठ दिन ढिला भएको थियो । दीर्घकालीन प्रवृत्ति हेर्दा मनसुन चाँडै सुरु हुने र ढिलो सकिने क्रम देखिएको उहाँले बताउनुभयो ।
 
 
गत वर्षको मनसुनका लागि विभागले औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको थियो । जुलाइको सुरुमा अद्यावधिक गर्दा विशेषगरी तराई क्षेत्रमा वर्षा सम्भावना अझ बढाइएको उहाँले जानकारी दिनुभयो । तथापि, जुनदेखि सेप्टेम्बरसम्मको अवधिमा औसतको करिब ९० प्रतिशतमात्रै वर्षा भएको उहाँले बताउनुभयो ।
 
 
गत अक्टोबरमा भएको असाधारण वर्षाले समग्र मनसुन अवधिको वर्षा परिमाण बढाएको उहाँले उल्लेख गर्नुभयो । अक्टोबरमा नेपालका धेरै स्थानमा २०० मिलीमिटरभन्दा बढी वर्षा भएको तथा १५ भन्दा बढी स्टेशनमा ६०० मिलीमिटरभन्दा बढी वर्षा रेकर्ड भएको उहाँले जानकारी दिनुभयो ।
 
 
उहाँले पश्चिम बङ्गाल क्षेत्रमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण पनि नेपालमा भारी वर्षा भएको बताउनुभयो । त्यसले समग्र मनसुन वर्षामा अतिरिक्त योगदान गरेको उहाँको भनाइ थियो ।
 
 
सुवेदीले नेपालमा क्षेत्रीय तहमा मनसुन पूर्वानुमान अझै चुनौतीपूर्ण रहेको स्वीकार गर्नुभयो । सुवेदीले मौसम तथा जलवायु अध्ययनमा स्थानीय भूगोल, वर्षाको वितरण र दीर्घकालीन तथ्याङ्कको महत्त्व अत्यधिक रहने उल्लेख गर्दै वैज्ञानिक पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन निरन्तर अध्ययन र सुधार आवश्यक रहेको बताउनुभयो ।
 
 
जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले सुपर एल निनोले दक्षिणी एसियाली देशमा आउने मनसुनी अवधिमा औसतभन्दा कम वर्षा तथा औसतभन्दा बढी गर्मीको सम्भावना देखाएको छ ।
 
 
मौसम सेवा थप विश्वसनीय बनाउनुपर्नेमा जोड
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले जलवायु परिवर्तनको बढ्दो प्रभावसँगै जल तथा मौसमसम्बन्धी अध्ययन, अनुसन्धान र पूर्वानुमान सेवालाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
 
 
उहाँले पछिल्लो समय जलवायुजन्य प्रभावका कारण वन, जलस्रोत तथा पर्यावरण क्षेत्रमा गम्भीर असर देखिन थालेको उल्लेख गर्दै यससम्बन्धी अनुसन्धान अत्यन्त संवेदनशील र महत्त्वपूर्ण विषय बनेको बताउनुभयो ।
 
 
उहाँले केही वर्षयता जल तथा मौसम सेवाको पहुँच द्रुतगतिमा विस्तार हुँदै गएको र सेवाप्रति आमनागरिकको विश्वास पनि बढ्दै गएको उल्लेख गर्नुभयो । “विपद् जोखिम न्यूनीकरण र जनधनको सुरक्षा गर्न मौसम पूर्वानुमान सेवा अत्यन्त महत्त्वपूर्ण बनेको छ”, उहाँले भन्नुभयो ।
 
 
सचिव दवाडीले आधुनिक प्रविधिको प्रयोगमार्फत जल तथा मौसम पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउने काम भइरहेको जानकारी दिनुभयो । विभागले सात दिनसम्मको वर्षा पूर्वानुमानलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ काम गरिरहेको उहाँको भनाइ थियो ।
 
 
उहाँले दुर्गम तथा जोखिमयुक्त स्थानसम्म मौसम सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय तहसम्म विश्वसनीय सूचना पुर्याउन आग्रह गर्नुभयो । “मौसम तथा जलवायु सेवाले आम नागरिकको जीवन, कृषि, जलस्रोत व्यवस्थापन र विपद् न्यूनीकरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसलाई अझ विश्वासिलो बनाउन आवश्यक छ”, उहाँले बताउनुभयो ।
 
 
जलवायु परिवर्तनका कारण जोखिम र विपद्का घटना तीव्र बन्दै गएको उल्लेख गर्दै उहाँले नेपाल सरकारले जलवायु परिवर्तन अनुकूलन तथा मौसम सेवाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
 
 
उहाँका अनुसार जलवायु तथा मौसम विज्ञानसम्बन्धी संस्थागत संरचना सुदृढ गर्न मन्त्रालयले विभिन्न नीतिगत तथा प्राविधिक पहल अघि बढाइरहेको छ । विभागमा जनशक्ति व्यवस्थापन, प्राविधिक क्षमता अभिवृद्धि तथा आधुनिक उपकरण विस्तारका काम भइरहेको उहाँले बताउनुभयो ।
 
 
सचिव दवाडीले जलवायु परिवर्तनका कारण हिमताल विस्फोट, अतिवृष्टि, बाढी तथा पहिरोजस्ता विपद्का जोखिम बढिरहेको उल्लेख गर्दै पूर्वतयारी, पूर्वानुमान र सूचना प्रणालीलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । “अबको आवश्यकता भनेको वैज्ञानिक अध्ययन, विश्वसनीय पूर्वानुमान र प्रभावकारी सूचना प्रणालीमार्फत जनधनको क्षति न्यूनीकरण गर्नु हो”, उहाँले भन्नुभयो ।
 
 
खडेरीका कारण चालु आवमा धान उत्पादनमा ह्रास
 
गत वर्ष मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको प्रक्षेपण गरिए पनि सबै स्थानमा धान रोपाइँका लागि भने मनसुन अनुकूलन नदेखिएको जनाइएको छ । बर्खेधान रोप्ने समयमा खडेरी परेपछि यसपटक धान उत्पादनमा पनि कमी आएको मन्त्रालयको भनाइ छ । 
 
विषेशगरी कोशी र मधेस प्रदेशमा परेका खडेरीका कारण उत्पादनमा कमी आएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा धान बाली भित्र्याइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल रहेको थियो ।  चालु आवमा तीन दशमलव आठ  प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफल कायम रहेको मन्त्रालयको अनुमान छ । 
 
त्यसैगरी, आव २०८१/८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएकामा चालु आव चार दशमलव २० प्रतिशतले कमी भई ५७ लाख पाँच हजार १२६ मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै उत्पादकत्व गत आवमा चार दशमलव १९ मेट्रिक टन प्रतिहेक्टर रहेकामा आव २०८२/८३ मा उत्पादकत्व एक दशमलव १६ प्रतिशतले घटेर चार दशमलव १४ मेट्रिक टन प्रतिहेक्टर हुन पुगेको छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

डेङ्गी सङ्क्रमणको सतर्कता अपनाउन आग्रह

May 09, 2026

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

May 09, 2026

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछ : राष्ट्रपति

May 08, 2026

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

May 08, 2026

सुनचाँदीको मूल्य आज पनि बढ्यो

May 08, 2026

बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

May 08, 2026

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

May 08, 2026

हुरीका बेला सतर्कता अपनाउन आग्रह

May 07, 2026

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

May 07, 2026

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

May 07, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .