इ चितवन खबर
May 15, 2026
काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले लगानीकर्तामा आत्मविश्वासको कमीका कारण अपेक्षाकृत रुपमा कर्जा प्रवाह नभएको बताउनुभएको छ ।
आर्थिक पत्रकारहरूसँगको अन्तरक्रियामा अध्यक्ष श्रेष्ठले बैंकमा पर्याप्त तरलता हुनुका कारण व्यवसायीहरूमा आत्मविश्वासको कमी भएकाले न्यून ब्याजदर हुँदा पनि कर्जा प्रवाह अपेक्षाकृत रुपमा नभएको उल्लेख गर्नुभयो । उहाँले उद्योगी अहिले लगानीका लागि ‘पर्ख र हेर’को अवस्थामा रहेको उल्लेख गर्दै यसको प्रभाव बैंकिङ क्षेत्रमा परेको बताउनुभयो । पछिल्लो समय बैंकको खराब कर्जा बढिरहेको सन्दर्भमा केही गल्ती बैंकको पनि भएको उहाँको भनाइ थियो ।
“बैंकिङ क्षेत्रमा पनि केही अस्वस्थ प्रतिस्पर्धा छ, धैरे शाखा खोल्ने, जसरी पनि कर्जा बढाउन जस्तो पनि धितो राख्नेलगायतका समस्या छन्, हामीले यसमा सुधार गर्नु जरुरी छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
सिबिफिनका अनुसार हाल खराब कर्जा पाँच दशमलव ३४ प्रतिशत पुगेको छ । जुन पछिल्लो १० वर्षयताकै सबैभन्दा बढी हो । बैंकको खराब कर्जा सन् २०२५ मा चार दशमलव ६२ प्रतिशत थियो भने सन् २०१७ मा दुई दशमलव ६३ प्रतिशत थियो ।
सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले समग्र अर्थतन्त्रमा समस्या आउँदा बैंकिङ क्षेत्र प्रभावित भएको बताउनुभयो । यद्यपि पछिल्लो समयको राजनीतिक परिवर्तनले भने सबैमा आशा जगाएको उहाँको भनाइ थियो ।
“राजनीतिक परिवर्तनले आमरुपमा ठूलो आशा जगाएको छ, सरकार अहिले सुशासन कायम गर्न लागेको छ, त्यसपछिको काम भनेको आर्थिक विकास नै हो”, उहाँले भन्नुभयो । सरकारले सात वर्षमा १०० अर्ब डलरको अर्थतन्त्रका लागि पनि लगानी बढाउनुको विकल्प नभएकाले लगानीमैत्री वातावरण भने निर्माण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंकिङ क्षेत्रमा पनि अस्वस्थ प्रतिष्पर्धालाई स्वीकार गर्दै त्यसमा सुधार जरुरी भएको बताउनुभयो ।
सिबिफिनका महासचिव मनोजकुमार गोयलले निर्माण क्षेत्र सुस्त हुँदा कर्जा प्रवाह कम भएको तर खराब कर्जा बढ्दा पनि बैंकिङ क्षेत्र कमजोर भने नभएको उल्लेख गर्नुभयो । “बैंकमा ब्याजदर घट्दो छ, तर निक्षेपको ब्याजदर कमजोर हुँदा पुँजी पलायनको जोखिम पनि बढेको”, उहाँले भन्नुभयो, “बैंकिङ क्षेत्र अर्थतन्त्रको ‘रिफ्लेक्सन’ पनि हो, अर्थतन्त्र राम्रो भएन भने बैंकिङ क्षेत्रमा पनि काम्रो हुँदैन ।”
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 30, 2026
September 30, 2026
September 28, 2026
September 26, 2026
September 25, 2026
September 25, 2026
September 23, 2026
September 23, 2026
September 22, 2026
September 22, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .