इ चितवन खबर
July 31, 2026
गण्डकी। आज साउन १५ अर्थात् खिर दिवस । यस दिन घरघरमा खिर खाने परम्परा छ । बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा पनि आज खिर चढाइयो । कालिका भगवती देवीलाई साउन महिनामा खिर चढाउने चलन छ ।
खिर चढाउने तिथि यस वर्ष साउन १५ मा परेको मन्दिर गुठी समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताउनुभयो । बिहान ७ बजेर ३६ मिनेटको साइतमा देवीलाई खिर चढाइएको उहाँको भनाइ छ । मूल पूजारी जयबहादुर खड्काले विधिवत् पूजाआजा गरेपछि देवी भगवतीलाई खिर चढाइएको थियो ।
शक्तिस्वरुपा कालिका भगवतीलाई खिर चढाएपछि मात्र अन्य पाहुना र भक्तजनलाई प्रसादका रुपमा खिर खुवाउने गरिएको अध्यक्ष खड्काले बताउनुभयो । पूर्वजहरुका पालादेखि नै मन्दिरमा खिर चढाउने चलन सुरु भएको उहाँको भनाइ छ । पहिलेपहिले कालिका भगवती देवीलाई खिर चढाएपछि मात्र बल्ल घरघरमा खिर पकाएर खाने चलन थियो ।
मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खिर चढाउने गरिन्छ । यस मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खिर नचढ्ने मूल पूजारी जयबहादुर खड्काले बताउनुभयो । देवीलाई चढाउने खिर अलग्गै पकाउने गरिएको उहाँको भनाइ छ ।
नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका भक्तजनलाई प्रसादीका रुपमा खिर खुवाउने गरिन्छ । पछिल्लो समय सरकारी तथा गैरसरकारी क्षेत्रका विशिष्ट पाहुनालाईसमेत बोलाएर खिर खुवाउने गरिएको छ । कालिका देवीलाई खिर खुवाउने चलन यस क्षेत्रकै मौलिक संस्कृतिका रुपमा जीवित रहेको अध्यक्ष खड्काले बताउनुभयो ।
विसं १५९१ मा मन्दिर स्थापना भएदेखि नै साउन महिनामा देवीलाई खिर चढाएर मात्र घरघरमा खिर फुक्ने गरेको यहाँका पाकापुराना बताउँछन् । सोही परम्परालाई पछिल्लो पुस्ताले पनि धान्दै आएको हो । पहिले घरघरबाट दूध ल्याएर मन्दिर परिसरमै खिर पकाउने चलन रहेपनि अहिले भैँसी पाल्ने चलन हटेपछि बजारबाट दूध किन्ने गरिएको छ ।
दूधलगायत सबै सरसामानको जोहो गरेर समितिले नै खिर खुवाउने कार्यक्रमको प्रबन्ध गर्ने गर्छ । झण्डै पाँच सय वर्षअघि स्थापना भएको कालिका भगवती मन्दिर देशमै प्रख्यात शक्तिपीठमा गनिन्छ । तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विश्रवादेवीसँग विवाह गर्दा देवीलाई दाइजो स्वरुप ल्याएको इतिहासमा उल्लेख छ ।
देवीको मूर्तिसहितको डोली अरु कसैले उचाल्न नसकेपछि बागलुङबाट शिकारीको भेषमा गएका चक्र पूँवार खड्काले खड्ग समातेको र यहीँबाट गएका लमगाउँका मगरले डोली बोकेर ल्याएको बताइन्छ । डोली ल्याउने क्रममा बागलुङ नगरपालिका–१ स्थित जङ्गलमा बिसाइएको र पुनः डोली उठाउन खोज्दा नसकेपछि त्यहीँ देवीलाई प्रतिस्थापन गरिएको किम्बदन्ती छ । कालिका देवीको पूजाआजा र भाकल गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । बर्सेनि बडादसैँ र चैतेदसैँमा यहाँ ठूलो मेला लाग्ने गर्छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 03, 2026
October 03, 2026
October 02, 2026
October 01, 2026
October 01, 2026
September 30, 2026
September 30, 2026
September 30, 2026
September 29, 2026
September 29, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .