नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

इ चितवन खबर

September 30, 2026

चितवन । नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँगैको नदी तटीय क्षेत्रलाई ‘सिबिच ढाँचा’मा विकास गर्न सङ्घीय सरकारसँग समेत समन्वय गरेर काम गरेको भए पनि बाढीका कारण संरचना जोगाउन नसकिएको हो ।


ठूला दलहरूका सभा सम्मेलन, महोत्सव, ‘कन्सर्ट’देखि साँझबिहानमा नारायणीको चिसो हावासँगै रमाउने र हिँडाइ गर्ने यो स्थललाई सुन्दर बनाउन महानगरले चाहेको थियो । जाडो महिनामा दिउँसोमा समेत यहाँ बसेर रमाउने र तस्विर खिच्नेहरू आउने गर्दछन् । नजिकै नारायणी नदी बगिरहेको छ भने वरिपरिको सुन्दरता मनमोहक छ ।


भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी नदी तटीय क्षेत्रलाई ‘सिबिच’ ढाँचामा विकास गर्न चाहेको भए पनि नदीमा हरेक वर्ष आउने बाढीका कारण सम्भव नभएको बताउनुहुन्छ । गत वर्ष अधिकांश संरचना बगाएको थियो भने बाँकी रहेका संरचना सबै बगाएको छ । उहाँले भन्नुभयो, “हामीले सङ्घ र प्रदेशसँग समेत सहकार्य गरेर यसलाई सुन्दर पर्यटकीय गन्तव्य बनाउने योजना बनाएका थियौँ ।” तत्कालीन नगरप्रमुख रेनु दाहालसहित महानगरपालिका टोलीको आग्रहमा सङ्घीय सरकारले फुटट्रेल, आरसिसी संरचनासहितको पैदलमार्गलगायतका काम गरेको थियो ।


पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पैदलमार्ग (फुटट्रेल) र नारायणी नदी व्यवस्थापन आयोजनाले सिबिच मोडलमा आरसिसी संरचना निर्माण गरेको थियो । भरतपुर महानगरपालिका र उद्योग वाणिज्य सङ्घले पैदलमार्ग बनाएका थिए । बाढी आउनुअघि सो क्षेत्रमा मोजाइक टायल, दुबो बिछ्याइएको, हरियाली एवं वरिपरि भएका बिरुवाका कारण सुन्दर र मनमोहक बनेको थियो । साँझपख मानिसहरू नारायणी किनारमा घुम्न निस्कने गर्दा छुट्टै चहलपहल हुने गथ्र्याे । 
 

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजु श्रेष्ठका अनुसार पर्यटन मन्त्रालयले ‘फुटट्रेल’को काम गरेको थियो । पर्यटन मन्त्रालयले दुई दशमलप चार किलोमिटर पैदलमार्ग, पार्किङ र बगैँचा निर्माणका लागि रु छ करोड ५० लाखको बोलपत्र आह्वान गरी काम गरेको थियो । यस्तै भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर रु ९७ लाख खर्च गरी पैदलमार्ग बनाएको थियो ।


जोरकुसुम उद्यान क्षेत्रबाहेक अन्यत्र बनाएका ती सबै संरचना बाढीले बगाएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले ११ खुट्किलासहितको ६५० मिटर लामो आरसिसी संरचना बनाएको थियो । हाल नदी क्षेत्रमा सो संरचनामात्र बाँकी छ । ती संरचना २०७९ सालमा रु १५ करोड ९२ लाख खर्च गरी बनाइएको हो । नदीकिनारलाई सुन्दर पर्यटकीयस्थल बनाउन लागिपर्नुभएका सङ्घका पूर्वअध्यक्ष श्रेष्ठ चाहेर पनि नदीकिनारलाई सुन्दर बनाउन नसकिएको बताउनुहुन्छ । नदीको बीचमा रहेका संरचना हटाएर नदीलाई सहज बग्न दिनुपर्ने उहाँको भनाइ छ ।
 

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी हरेक दुई वर्षमा सङ्घले महोत्सव गर्नका लागि रु ४० लाख हाराहारी खर्च गरेर नदीकिनार व्यवस्थापन गर्नुपर्ने बाध्यता आएको बताउनुहुन्छ । सो क्षेत्रको भाडा भरतपुर महानगरपालिकाले लिने भए पनि काम आफूहरूले समेत गर्नुपरेको उहाँको भनाइ छ । हरेक वर्षको बाढीले त्यहाँ बनाएका संरचना बगाउने गरेको उहाँको गुनासो छ । यसलाई दिगो रूपमा संरक्षण गर्न सक्ने गरी काम गर्नुपर्ने उहाँको भनाइ छ ।


रास्वपाका नेतासमेत रहनुभएका सङ्घका पूर्वअध्यक्ष राजन गौतम सो क्षेत्रमा गरिएको लगानी बालुवामा पानी भएको भन्दै कार्यक्रम अन्यत्र गर्ने र नदीलाई आफ्नो धारमा बग्न दिनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब हामीले नारायणगढ बजारको चिन्ता लिने हो । हाटबजारझैँ गरिने मेला महोत्सवको चिन्ता लिने होइन ।”


पहिलोपटक नारायणी नदीको बहाव उर्लिएर बजार क्षेत्रमा उक्लिएको छ । यसले नारायणगढ बजारसमेत जोखिममा परेको स्थानीयको बुझाइ छ । लामो समयदेखि नारायणगढमा बसोबास गर्दै आउनुभएका प्रभातकुमार जोशी नदीको कटान यसरी नै बढ्दै गएमा नारायणगढ बजार नै जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ । विसं २०१९ देखि नारायणगढ बस्दै आउनुभएको जोशीका अनुसार नारायणी किनारको संरक्षणमा सरकारले तत्काल विशेष ध्यान दिनुपर्छ । नदीको उचित संरक्षण नगरेर प्रकृतिलाई जिस्क्याउँदै किनारमै बस्ती विस्तार गरिए नारायणगढ बजारको भविष्य नै खतरामा पर्ने उहाँको भनाइ छ ।


भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्य भोटेकोशी बाढीपछि नदीको सतह बढेर पानीको बहाव बजार क्षेत्रमा पसेको हुनसक्ने बताउनुहुन्छ । नदी तटीय क्षेत्रलाई सुन्दर बनाउन फरक ढङ्गले नक्साङ्कन गरेर काम गर्नुपर्ने देखिएको उहाँको भनाइ छ । महानगरले नदी तटीय यस क्षेत्रलाई विश्वका सामुद्रिक किनारमाझैँ पर्यटकीय गन्तव्य बनाउन चाहेको भए पनि सम्भव नभएको उहाँले बताउनुभयो ।


नारायणी नदीमा ६० वर्षयताको ठूलो बाढी मापन गएको आइतबार भएको छ । देवघाटमा रहेको जलमापन केन्द्रमा बिहान ११ः४० बजे गरिएको मापनमा ११ दशमलव ९३ मिटर पुगेको थियो ।


नारायणी बेसिन कार्यालय चितवनका प्रमुख सुमित अधिकारीका अनुसार यसअघि २०८१ साल असोज १२ गते सो ठाउँमा ११ दशमलव ६ मिटर मापन भएको थियो । उहाँका अनुसार सन् १९६३ बाट देवघाटमा जलमापन गर्न थालिएको हो । अहिलेसम्मको तथ्याङ्कमा आइतबारको बाढी ६० वर्षयताको ठूलो हो । यही बाढीका कारण नदी तटीय क्षेत्रमा भएका संरचना बगेका हुन् ।


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान

November 19, 2026

दूधको मूल्य वृद्धि गर्न किसानको माग

November 17, 2026

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

November 16, 2026

दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

November 16, 2026

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

November 14, 2026

नवलपुरमा २०४ उद्योग थपिए

November 11, 2026

तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

November 10, 2026

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

November 10, 2026

तीन महिनामा गण्डकी प्रदेशको आठ प्रतिशत बजेट खर्च

November 09, 2026

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

November 07, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .