चितवनमा शवको खोजी, पहिचान तथा व्यवस्थापन

इ चितवन खबर

August 27, 2026

चितवन। त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान तथा व्यवस्थापनका लागि चितवनमा आवश्यक तयारी गरिएको छ ।   

    
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको आकस्मिक बैठकले शव सुरक्षित राख्ने, खोजतलास गर्ने, पहिचान गर्ने तथा सम्बन्धित परिवारलाई बुझाउनेलगायत विषयमा विभिन्न निर्णय गरेको छ । 

    
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग परिसरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गरिने जानकारी दिनुभयो । 


    
अर्यालले भन्नुभयो, “यहाँका अस्पतालमा पनि शव आउने र  अस्पतालमा पर्याप्त स्थान नभएकोले व्यवस्थापनका लागि यो स्थान तय गरिएको हो ”

    
उहाँले भोटेकोशी नदीबाट बगेर आएका शव चितवनमा आउनसक्ने भएकाले खोज तथा उद्धार टोलीलाई परिचालन गरिएको बताउनुभयो । उहाँले हालसम्म ७३ शव भेटिएको जानकारी दिनुभयो । 

    
विभत्स दृश्यका तस्बिर राखेर समाजलाई आतङ्कित बनाउने काम नगरिदिनुहुन आग्रह समेत उहाँले आग्रह गर्नुभयो । 

    
शव सुरक्षित राख्न आवश्यक बरफलगायत सामग्रीको व्यवस्था चितवन उद्योग वाणिज्य सङ्घ र रत्ननगर उद्योग वाणिज्य सङ्घले उपलब्ध गराउने छन् ।

    
यस्तै, प्रतिष्ठानको भवन अगाडि टेन्ट राखेर ‘विपद् सहायता कक्ष’ सञ्चालन गरिनेछ । उक्त कक्षमार्फत बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा आफन्तलाई शव बुझाउने कार्यमा सूचना समन्वय गरिनेछ । 

    
शव खोजतलासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भरतपुर महानगर प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

    
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नदीबाट शव निकाल्नेबित्तिकै पहिचान प्रक्रियालाई सहज बनाउन शवको समग्र तथा नजिकबाट स्पष्ट देखिने तस्बिर खिचिनेछ । आवश्यक परे तस्बिरलाई स्पष्ट बनाएर शवलाई ट्यागसहित ‘डेड बडी ब्याग’ मा राखिनेछ । त्यसपछि शवलाई तोकिएको संरक्षण स्थलमा शून्य डिग्री तापक्रमको एसीमा राख्ने व्यवस्था गरिएको छ ।

    
शवको पहिचान नभएका अवस्थामा बेपत्ता व्यक्तिका आफन्तलाई भेटिएका शवका तस्बिर देखाएर पहिचान गर्न सहयोग गरिने एसपी पौडेलले बताउनुभयो । 

    
आफन्तले शरीरमा रहेका ट्याटु, अन्य चिनो, कपडा तथा शवबाट देखिने पहिचानका आधारमा पहिचान गर्न सक्ने उहाँले बताउनुभयो ।
 
    
पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्रलगायत कागजातबाट यकीन गरिने र आधिकारिक आफन्त भएको पुष्टि भएपछि समितिका माध्यमबाट कानुनी प्रक्रिया पूरा गरी शव जिम्मा लगाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

    
यसैगरी, बाहिरी जिल्लाबाट आफन्तको खोजी तथा शव पहिचानका लागि चितवन आउने व्यक्तिका लागि होटल सङ्घको समन्वयमा निःशुल्क खाना तथा आवासको व्यवस्था मिलाइएको छ ।

    
बैठकले शवगृह व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरपालिकालाई, शव पहिचान तथा हस्तान्तरणको जिम्मेवारी प्रहरी नायब उपरीक्षक सुवास भट्टलाई दिएको छ । 

    
खाजा तथा पानीको व्यवस्था रत्ननगर उद्योग वाणिज्य सङ्घ र सपना भिलेज तथा डेड बडी ब्यागको व्यवस्था नेपाल रेडक्रस सोसाइटी चितवनले गर्नेछ । स्वास्थ्य सामग्री मास्क, स्यानिटाइजर र पञ्जाको व्यवस्था सर्जिकल व्यवसायी सङ्घले गर्ने निर्णय भएको छ ।

    
बाढी तथा विपद्का कारण राष्ट्रिय दुःखको अवस्था रहेकाले यस वर्षको हरितालिका तीज पर्व भड्किलो नगरी सादगीपूर्ण रूपमा मनाउन सर्वसाधारणलाई अपिल गरिएको छ । 

    
साथै, बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डरलगायत सरकारी वा व्यक्तिगत सामग्री फेला परेमा नजिकको सुरक्षा निकायमा बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .