यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

इ चितवन खबर

October 04, 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न खुलामञ्चमा हुँदैछ । यही असोज २२ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
    
    
महाधिवेशन तालिकाअनुसार आज असोजको १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ ।

    
देशभर निरन्तरको वर्षाका कारण यही असोज १६ गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ हुन लागेको हो । देश र विदेशबाट महाधिवेशन प्रतिनिधिहरु सहभागी हुन काठमाडाँै आउने क्रम जारी छ । महाधिवेशन तयारीका लागि गठन गरिएका विभिन्न १५ समितिले आ–आफ्नो तयारी गरिरहेका छन् । उद्घाटनस्थल खुलामञ्चमा भव्य मञ्च निर्माण गरिएको छ । खुलामञ्चमा नै बन्दसत्र सञ्चालनका लागि भिन्न भिन्न ठूला हलहरु बनाइएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । महाधिवेशन स्थलमा नै मिडिया सेन्टर तथा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको छ ।

    
आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक/एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको छ । आवासका लागि एअरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलङ्की र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ । सहभागीले यससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्नेछन् । बिहान, दिउँसो र साँझको भोजन व्यवस्था भने भृकुटीमण्डपमा गरिएको आवास व्यवस्थापन समितिले जनाएको छ ।

    
यसैगरी, केन्द्रीय निर्वाचन समितिका अनुसार यो महाधिवेशनमा करिब सात हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी हँुदैछन् । कांग्रेसको इतिहासमा नै पहिलोपटक यति ठूलो सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु निर्वाचित भएका हुन् ।

    
उद्घाटन र बन्दसत्र एउटै स्थानमा

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसँगै बन्दसत्र पनि काठमाडौँको खुलामञ्चमै हुनेछ । ठूलो सङ्ख्यामा प्रतिनिधि व्यवस्थापन गर्न त्यहीअनुसार संरचना निर्माण गरिएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्नुहुने तालिका छ ।

    
खुलामञ्चमा हुने महाधिवेशनका बन्दसत्रका लागि तीनवटा ठूला संरचना तयार गरिएको छ । ठूलो सङ्ख्यामा रहेका प्रतिनिधिलाई व्यवस्थित रूपमा सहभागी गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । छलफल चलाइने ती हलहरुको नाम हिमाल, पहाड र तराइ–मधेस राखिएको छ ।

    
प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउनु हुने प्रवक्ता चालिसे बताउनुभयो । 

    
उदघाटन सत्रमा विभिन्न राजनीतिक दलको नेतृत्वलाई आमन्त्रण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चा अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।

    
अन्तरराष्ट्रिय अतिथिहरुमा सोसलिष्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवालगगायत अतिथि महाधिवेशनमा सहभागी हुन नेपाल आइसक्नुभएको छ ।

    
ऐतिहासिक स्थलमा १५औँ महाधिवेशन

कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक सम्बोधन गर्नुभएको स्थलमा पार्टीको १५औँ महाधिवेशन हुँदैछ ।

    
त्यही टुँडिखेलमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले निरङ्कुश सत्ताको अन्त्यका लागि भएको २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गर्नुभएको थियो । महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्नुहुने छ भने उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूको पनि सम्बोधन हुनेछ ।

    
प्रवक्ता चालिसेले भन्नुभयो, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन् र उनीहरूसहितले छानेका सात हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।” गत पुस २८ देखि माघ ३ गते सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि यो महाधिवेशन हुन लागेको हो ।

 

 तामझाम नगरी सामान्य प्रचार शैली

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको प्राकृतिक विपद्का कारण मुलुक शोकमा रहेको अवस्थामा कांग्रेसले यस महाधिवेशनमा प्रचारप्रसारमा तामझाम नगर्ने पार्टीले जनाएको छ । कार्यक्रमस्थलमा एउटा मूल गेटबाहेक अरू कुनै प्रचार सामग्री सहर बजारमा टाँगिएको छैन ।

    
यसबाहेक काठमाडांै उपत्यकालगायत देशका प्रमुख सहर बजारमा रहेका करिब १०० ‘डिजिटल बोर्ड’बाट मात्र महाधिवेशनसम्बन्धी सूचना र सन्देशहरु प्रवाह गरिएको छ । महाधिवेशनमा हुने निर्वाचनमा उम्मेदवार हुने साथीहरुलाई पनि प्रचारप्रसारका डिजिटल माध्यम मात्र प्रयोग गर्न पार्टी आग्रह गरिएको छ । साथै वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ ।

    
निर्वाचन समितिले तडकभडक र भड्किलो प्रचारप्रसारमा पूर्ण रोक, विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानहरूलाई निषेध गरिएको जनाएको छ ।

    
“प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण प्रतिबन्ध, महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पनि निषेध गरिएको छ,” समितिका सदस्यसचिव राजु कटुवालले भन्नुभयो ।

    
निर्वाचन समितिका अनुसार असोज १९ गते सोमबार अपराह्ने २ः०० देखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता हुनेछ । तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्नेछन् ।

    
नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बन्नेछ । १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ । यसपटक कांग्रेसमा सहमहामन्त्रीको सङ्ख्या आठबाट बढाएर ११ पु¥याइएको छ । समावेशी समूहबाट निर्वाचित हुने तथा सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ ।

 

आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था

कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरुका लागि सवारीसाधन पार्किङका लागि विभिन्न आठ स्थानमा व्यवस्थापन मिलाइएको यातायात व्यवस्थापन समितिले जनाएको छ ।

    
महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि धरहराको अन्डर ग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान स्थल र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थललाई तोकिएको समितिका संयोजक विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।


“यसैगरी काठमाडौँ उपत्यका बाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागलाई पार्किङ गर्न मिल्ने गरी ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौँसँग समन्वय गरिएको छ,” संयोजक स्वाँर भन्नुभयो । धरहरा अन्डर ग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङ स्थलमा शुल्क लाग्नेछ भने अन्यत्र निःशुल्क हुनेछ ।

    
स्वास्थ्यकर्मीसहितको ‘हेल्थ डेस्क’

महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरुका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

    
महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा केदारनरसिंह केसीका अनुसार महाधिवेशन स्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि ‘हेल्थ डेस्क’ बनाइएको छ । पाँच स्टल रहने हेल्थ डेस्कमार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिने छ ।

    
‘हेल्थ डेस्क’ दुई ‘सिफ्ट’मा सञ्चालन हुने बताउँदै उहाँले भन्नुभयो, “डेस्कमा आठ जना चिकित्सक, पारामेडिक्स तथा नर्सहरु रहनेछन् भने ब्लड प्रेसर, सुगर, सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधिलगायत निःशुल्क प्रदान गरिनेछ ।”

    
यसैगरी, प्रतिनिधिहरुलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धारामा रहेको बिपी स्मृति अस्पतालमा व्यवस्था मिलाइएको छ । त्यसका लागि महाधिवेशन स्थलमा नै दुई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

    
युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

    
यस महाधिवेशनमा केही महत्वपूर्ण पक्षमा फरक हुँदैछ । गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधनलाई कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास गर्न लागिएको छ ।

    
यसपटक कांग्रेसले ३५ वर्षमुनिका युवालाई पार्टीको नेतृत्व संरचनामा सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरेको छ । वडादेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै व्यवस्था गरेको छ ।

    
त्यस्तै, केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन् । प्रदेशगत र खुला समूहबाट युवालाई केन्द्रीय नेतृत्वमा ल्याउने व्यवस्था गरिएको छ ।

    
कांग्रेसका विभिन्न तहका कार्यसमितिमा महिलाको प्रतिनिधित्व कम्तीमा एक तिहाइ सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । यसले वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउने लक्ष्य राखेको छ ।

    
यसैगरी, राजनीतिमा लामो समयदेखि सक्रिय कार्यकर्तामात्र नभई विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पनि पार्टीको मूल नेतृत्वमा ल्याउने बाटो खोलिएको छ । यही व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

    
नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । यसले विदेशमा रहेका कांग्रेससम्बद्ध नेपालीलाई केन्द्रीय संरचनामा औपचारिक स्थान दिनेछ ।

    
अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई पनि केन्द्रीय समितिमा सुनिश्चित गर्ने गरी व्यवस्था गरिएको छ । त्यसैगरी, श्रमिक र प्रजातन्त्र सेनानी तथा सहिद परिवार र द्वन्द्व पीडितहरुको पनि प्रतिनिधित्वको सुनिश्चितता गरिएको छ ।

    
कांग्रेसले विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरेको थियो तर प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिम समयमा परम्परागत मतदान प्रणालीमै जाने भएको छ ।

    
महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, सङ्गठन सुधार र नयाँ पुस्ताको भूमिकाबारे बहसलाई पनि प्राथमिकता दिइएको छ । 


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

October 01, 2026

अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

September 30, 2026

कांग्रेस महाधिवेशन तयारी समितिमा दीपक अधिकारीलाई चितवनको सह–संयोजकको जिम्मेवारी

September 26, 2026

दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको हो : कानुनमन्त्री सोबिता गौतम

September 24, 2026

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

September 18, 2026

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

September 15, 2026

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

September 14, 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ अर्ब २३ करोड रकम मौज्दात

September 11, 2026

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छ : मन्त्री गौतम

September 10, 2026

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको ११३औँ जन्मजयन्ती मनाइँदै

September 09, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .