काठमाडौं उपत्यका वायु प्रदुषणको उच्च जोखिममा

इ चितवन खबर

April 15, 2025

काठमाडौं उपत्यका एक पठारजस्तै रुपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमन्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ।

- प्रकाश रेग्मी

परिचय

हाव पृथ्वीमा रहेका सबै जीवजन्तु र वनस्पतिका लागि नभई नहुने कुरा हो। यसको अभावमा जीव र वनस्पति संसारको अस्तित्वको कल्पना गर्न सकिँदैन। विकसित परिवर्तित परिप्रेक्ष्यमा मानवीय अधिक क्रियाकलापका कारण हावाको प्राकृतिक संरचनामा बिचलन आई मानवीय स्वास्थ्यमा प्रतिकूल असर हुने सम्भावना बढ्दै गएको छ।   

 

लेखनको क्रममा आफू प्रविधिले सम्पन्न मुलुकमा रहेकाले आफ्नो देशमा पनि त्यस्तै होला भन्ने कल्पना आउँदो रहेछ। अर्थात् बितेको र आफूले नै भोगेको कुरा पनि बिर्सने हुँदो रहेछ। यसै गत हप्ताको वायु प्रदुषण तथ्याङ्कको डेटा प्राप्त होला भन्ने आशाले लेखन कार्य सुरुआत गरें तर सोचेको डाटा प्राप्त हुन नसकेर पुरानो डाटाको आधरमा काठमाडौं र आसपासको वायु प्रदुषण सूचकांक नक्सा तयार भएको छ। यस लेखमा यसैलाई मात्र आफ्नो प्रेरणा सम्झेको छु।  

 

यस लेखको लागि आफूले अध्ययनको क्रममा सिकेका केही ज्ञान, अनलाइन पोर्टलमा प्रकाशित लेखहरू, नेपाल सरकार वन तथा वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएको सन् २०१९ र २०२० को वास्तविक समय डाटा र अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको बौद्धिक डार्क वेब (आइडीडब्लू) कम्प्युटर सफ्टवेयरको प्रयोग गरिएको छ। हावाको गुणस्तर मापनको लागि प्रतिघन मिटर हावामा रहेका कुल निलम्बित कणहरूको संख्यालाई आधार बनाइएको छ। जुन वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएका विभिन्न किसिमका वायु प्रदुषणको प्रकारमध्ये एक हो।

 

वायु ग्यासहरूको एक अदृश्य मिश्रण हो, जसले पृथ्वीलाई घेरेर रहेको छ। जसमा नाइट्रोजन (७८%), अक्सिजन (२१%), आर्गन, कार्बन डाइअक्साइड र पानीको वाष्पजस्ता अन्य ग्यासहरूको थोरै मात्रा मिलेर बनेको हुन्छ। हावाको गुणस्तर एयर क्वलिटी इन्डेक्स विधिद्वारा मापन गरिन्छ। एयर क्वलिटी इन्डेक्स मापन गर्दा पाँच प्रमुख वायु अवयवहरूलाई लिएर गरिन्छ। तिनिहरू ओजन तह, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड हुन्। 

 

वायु प्रदुषण भन्नाले वायुमण्डलको प्राकृतिक विशेषताहरूलाई परिमार्जन गर्ने र मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्ने कुनै पनि रासायनिक, भौतिक वा जैविक तत्वद्वारा भित्री वा बाहिरी वातावरणको प्रदुषणलाई बुझिन्छ। यसले हावामा हुने हानिकारक पदार्थहरूको उपस्थितिलाई जनाउँछ, जुन सामान्य पृष्ठभूमि स्तरभन्दा बढी हुन्छ र जीवित जीवहरूमा नकारात्मक प्रभाव पार्छ। 

गत हप्प्ता काठमाडौंबाट प्रकासित सबैजसो पत्रपत्रिकामा काठमाडौंको वायु प्रदुषणबारे समाचार तथा लेखहरू प्रकाशित भए। कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा २०८१  चैत्र २१ गते बसेको बैठकले ९ बुँदे निर्णयमा वायु प्रदुषण बढ्न नदिन सम्बन्धित सरोकारका निकाय र सर्वसाधारणका नाममा एक निर्देशिका जारी समेत गरियो।

 

वायु प्रदुषणको कारणहरू

• नेपालमा हिउँदमा पश्चिमी वायु बहन्छ जुन चिसो र सुख्खा हुन्छ। त्यस समयमा जमिनमा रहेका धुलोका कणहरु सुक्खा हुँदै जान्छन्। यसका साथै रुखबाट झरेका पातहरू पनि सुख्खा भएर जमिनमा रहेका हुन्छन्। चैत महिना लागेसँगै पश्चिमी वायुको प्रभाव घट्दै जाने र मनसुनी वायु विस्तारै बढ्दै जाने क्रम सुरू हुन्छ। अर्थात् यो समय दुई फरक प्रकृतिका वायुको बीचको संक्रमणकालीन अवधि पनि भन्न सकिन्छ। यो समयमा जमिनमा रहेका सुख्खा धुलकण र सुक्खा पात पतिङगरहरू हावाको गति बढेसँगै वायुमन्डलमा मिसिन्छन् र यस समयमा वायु प्रदुषण बढ्ने उच्च सम्भावना रहन्छ। यसका अलावा ज्वालामुखी विस्फोट र समुद्रबाट निस्कने नुनको कणजस्ता कारणले वायु प्रदुषण बढ्न जान्छ। यस्ता कारणहरू प्राकृतिक कारणहरू हुन्, जसमा मानव जातिले स्थानीय तहमा केही गर्न सक्दैन।

 

• नेपालमा गर्मी बढेसँगै आगलागीका प्रशस्त घटनाहरू हुने गर्छन्, तिनमा अधिकांश घटनाहरू मानव निर्मित हुन्छन्। काठमाडौंमा चल्ने अधिकांश सवारी साधनहरूबाट निस्कने धुवाँका कारण त्यहाँको वायुमन्डलमा अतिरिक्त धुल कण मिसिनाले वायुमन्डल थप प्रदुषित हुन जान्छ।

 

• काठमाडौं वरपरका जिल्लाहरूमा अझै पनि घरेलु इन्धनको रुपमा दाउराको प्रयोग हुन्छ र यसै समयमा घर वरपरका झारपातहरू सुक्ने हुनाले तिनलाई बिसर्जन गर्न आगो लगाउने प्रचलन छ।

 

• काठमाडौं उपत्यका एक पठारजस्तै रुपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमन्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ। फेरि चैत महिनाको वरपर पश्चिमी वायुको प्रभाव घट्दै जाने र बंगालको खाडीबाट उत्तर-पश्चिम दिशा भएर बहने हावाले नेपालको तराईको वायुमन्डलमा रहेका निलम्बित कणहरूसहितको हावा उडाएर काठमाडौं उपत्यकाको आकाशमा पुर्‍याउँछ र उक्त निलम्बित कणहरूसहितको हावा रातिको समयमा चिसो हुन गई त्यो हावाको घनत्व बढ्छ, उक्त हावाको तौल पनि बढ्न जानाले वायुमन्डलको तल्लो तहमा आएर चिसो हावाले भरिएको कुवाजस्तो भएर रहन्छ। 

 

काठमाडौं र यसको वरपरको वायुमन्डलको प्रदुषण अवस्था  

माथि उल्लेखित सूचना स्रोत अनुसार नेपालमा भएका २७ वटा वायु प्रदुषण मापन केन्द्रहरूबाट उपलब्ध वायुमन्डलमा रहेका निलम्बित कणहरूको संख्याको आधारमा तयार गरिएको रास्टर नक्साले काठमाडौं र वरपरका ठाउँहरूको वायु प्रदुषणको अवस्थालाई देखाउँछ।

 

वास्तवमा वायुमन्डलमा रहेको हावा अत्यन्त गतिशील हुने हुनाले प्रत्येक ठाउँ र हरेक समयमा यसको दर फरक हुन्छ। तर पनि यस नक्सा तयार पार्दा सन् २०२० को जनवरी महिनाको १ गते प्रत्येक सूचना केन्द्रबाट सङ्कलन गरिएका प्रतिघनमिटरमा वायुमन्डलमा रहेका निलम्बित कणहरूको संख्या सयौंको संख्यामा रहेका वास्तविक समय डेटालाई औसत मान निकालेर तयार पारिएको हो।

 

प्रतिघनमिटर हावामा ५० भन्दा कम निलम्बित कणहरूको संख्या भएमा त्यस्तो हावालाई सुरक्षित हावा मानिन्छ। त्यस दिन काठमाडौंमा रहेको भैंसेपाटी केन्द्रमा सबैभन्दा बढी निलम्बित कणहरूको संख्या पाइएको थियो। त्यहाँ त्यस दिन प्रतिघनमिटरमा हावामा ६८७  निलम्बित कणहरूको संख्या रहेको पाइयो। यो संख्या वायु गुणस्तर श्रेणीमध्ये सबैभन्दा खतरनाक श्रेणीमा प्रदर्छ। त्यसदिन काठमाडौंको नजिकै रहेको धुलिखेलमा सबैभन्दा कम निलम्बित कणहरूको संख्या रहेको पाइयो (११)। त्यसपछि क्रमश: पोखरा (३०), लुम्बिनी (३१), धनकुटा (३१), दमक (४३) र सुर्खेतमा (५०) देखिएका थिए। यसको मात्रा ५१ देखि १०० सम्म भएका स्थानलाई मध्यम वर्गमा राखिएको छ, जसमा दाङ (५३), शंकरपार्क (७०) र नेपालगन्जमा (८१) मापन गरिएको छ। मापनको मात्रा १०१-१५० :  संवेदनशील मानव समूहहरूको लागि अस्वस्थ मानिन्छ, जसमा चितवन (१२७), पुल्चोक (१३२), रत्नपार्क (१३७) र सिमरामा १५० रहेको छ। त्यसैगरी, तराईको जिल्ला सुनसरीमा १८५ मापन गरिएको छ, यो मात्रालाई अस्वस्थ वर्गमा राखिएको छ। 

 

यी फरक केन्द्रका औसत मानहरूलाई नियमित वितरणको हिसाबले नक्सामा उतार्दा माथिको नक्सा तयार भएको छ। त्यस दिन झन्डै विराटनगरदेखि बुटवलसम्म प्रदुषित हावा रहेको देखिन्छ। काठमाडौंको पश्चिमी भागमा झन्डै ४५ किलोमिटरको परिधिभित्र झन्डै चितवन र सिमरासम्म त्यस दिन अति संघन वायु प्रदुषण रहेको देखिन्छ।

 

वायु प्रदुषण न्यूनीकरण प्रविधिहरू

वायु प्रदुषणको प्रभावलाई कम गर्न नेपाल सरकारको मिति २०८१/१२/२१ गतेको बैठकबाटै ९ बुँदे निर्णय पत्र सम्बन्धित निकाय र सर्वसाधारणका लागि प्रसारण गरिसकिएको छ। जसमा सचेतनामुलक कर्यक्रमसहित केही नीतिगत निर्णय भएका छन्। ती बुँदाहरू दोहोर्‍याइरहन आवश्यक परेन। तिनका अलवा केही आफ्नो मनमा आएका भावनाहरू यस लेखमा राख्न चाहें। 

 

हेरचाहभन्दा रोकथाम राम्रो हो तर पनि रोग लागिसकेपछि हेरचाह पनि आवश्यक कुरा भयो। हावामा आइसकेको वायु प्रदुषण घटाउन सबैभन्दा उत्तम उपाय हावामा पानीको मात्रा बढाइ वर्षा गराउनु हुन्छ। वर्षापछि वायुमन्डलमा रहेका निलम्बित कणहरू वर्षाको पानीसँगै जमिनमा झर्छन् र वायुमन्डल स्वच्छ हुन जान्छ।  यसका अलावा स-सानो कोठामा हावा सफा गर्न विधि र उपकरणहरू पनि बजारमा आएका छन्। 

 

• कृत्रिम वर्षा, जसलाई क्लाउड सिडिङ पनि भनिन्छ, यो एक मौसम परिमार्जन प्रविधि हो जसमा वर्षा गराउनको लागि सिल्भर आयोडाइड, पोटासियम आयोडाइड, वा सुख्खा बरफजस्ता पदार्थहरू बादलहरूमा घुसाएर हावामा रहेका कणहरूलाई थप सघन गराई बादलमा रहेका स-साना पानीका कणहरूलाई ठूला पानीका थोपाहरूमा परिमार्जित गराई तौल भार बढाएर वर्षा गराइन्छ।

 

• स्थानीय ज्ञान,  म सानो छँदा तराईमा लामो समयसम्म पानी नपर्दा जलधारो खेल्ने प्रचलन थियो। यो एक फागू पूर्णिमामा फागु खेलिने प्रक्रियाजस्तै रङको सट्टा पानीको प्रयोग गरेर खेलिन्छ। र यो खेलपछि वर्षा हुन्छ भन्ने विश्वास गरिन्छ। यो विश्वासमा कति सत्यता छ, त्यो भने म भन्न सक्दिन्नँ तर यो खेलपछि जमिन भिजेको हुन्छ र जमिनबाट थप धुलोका कणहरू हावामा जान पाउँदैन। अर्को, जमिननजिकको हावामा पानीको मात्रा बढ्न गई हावामा रहेका स-साना पानीका कणलाई संघन र तौल भार बडाउने काम भने पक्का गर्दछ। फेरि यो काम गर्न ठु्लो धनराशी खर्च गर्न पर्दैन र स्थानीयहरूलाई अत्यधिक परिचालन गर्न पनि सकिन्छ।

 

• हावा शुद्ध गर्ने,  आजकल हावा शुद्ध गर्ने मेसिन बजारमा पाइन्छन्। यसले खुल्ला हावामा काम गर्दैन तर बन्द कोठामा राम्रोसँग काम गर्दछ। वायु गुणस्तर सूचकांक ५० भन्दा कमलाई राम्रो मानिन्छ। यसले यदि कोठाबाहिरको वायु गुणस्तर सूचकांक १५० देखि २०० सम्मको छ भने बन्द कोठाभित्र ५० सम्म ल्याउन मद्दत गर्छ। त्यसैले, निश्चित वर्गका मानिसले यसको प्रयोग गरेर सम्भाव्य वायु प्रदुषणको जोखिमबाट बच्न सक्छन्।

(भरतपुर, चितवन, हाल : अमेरिका)


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

July 01, 2026

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

July 01, 2026

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

June 30, 2026

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

June 30, 2026

१६७ भाषामा अध्ययन गर्न मिल्ने गरी नेवाः सांस्कृतिक ज्ञानकोष अनलाइनमा

June 29, 2026

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर

June 29, 2026

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

June 29, 2026

कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

June 29, 2026

असार १६ र १७ गते भारी वर्षाको सम्भावना

June 29, 2026

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

June 29, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .