इ चितवन खबर
September 30, 2025
चितवन । दसैँलाई मिठो खाने र राम्रो लाउने चाडको रूपमा लिइन्छ । मिठो खाने भन्नेबित्तिकै त्यसमा मासुको कुरा आइहाल्छ । आज (मंगलबार) महाअष्टमी, घरघरमा खसीबोका, राँगा, च्याङ्ग्रालगायत पशु चौपायाको बलि दिने र मासु खाने चलन छ । दसैँमा सामान्य अवस्थामा भन्दा बढी नै मासु खाइन्छ । त्यसैले स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरू सुझाउँछन् ।चिकित्सकहरू मासु नै नखान भन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफैँमा खराब नभएपनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने उनीहरूको भनाइ छ ।
पुष्पाञ्जली अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी खानपिनमा सामान्य ध्यान नदिँदा दसैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि हुने बताउँछन् । एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा हुने उनको भनाइ छ ।
‘बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान सकिन्छु’, उनी भन्छन् । पोलेर र तारेर मासु प्रयोग नगर्न उनको सुझाव दिए । चाडपर्वमा बाहिर हिँडडुल धेरै गर्ने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको छ ।डा. अधिकारी भन्छन्, ‘नुन, चिल्लो, चिसो, गुलियो बढी खाने त्यसमा पनि मदिरा र चुरोट मिसाउँदा झनै समस्या हुन्छ ।‘ शाकाहारीले पनि धेरै मिठाई, पनिरजस्ता वस्तु खान नहुने उनले बताए । ‘मिठाई लामो समयदेखि बनाएर राखिएको हुन्छ, जसले स्वास्थ्यमा असर गर्छ’, उनी भन्छन् । पनिर पनि धेरै खाँदा कोलेस्ट्रोल बढ्ने भएकाले ठिक्क मात्रामा खानुपर्ने उनी बताउँछन् ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण साह रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको जोखिम बढ्ने बताउँछन् । ‘बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछा खाने गर्नुपर्छ’, उनी भन्छन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विनय ठाकुर बोसो भएको मासुलाई आगोमा पकाएर खाँदा त्यसबाट उत्पन्न हुने प्रतिक्रियाबाट आन्द्राको क्यान्सर हुने जोखिम बढी हुने बताउँछन् । ‘तर धुवाँसँग मासुलाई मिसाएर प्रशोधन गरिँदा रासायनिक प्रक्रिया भई क्यान्सर उत्पन्न गराउने खतरा हुन्छ’, उनी भन्छन् । मदिरा र मासु धेरै सेवन गर्ने व्यक्तिमा समेत आन्द्राको क्यान्सरको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् ।
चितवन मेडिकल कलेज (सीएमसी)का डीएम इण्डो क्राइनोलोजिष्ट डा. सौरभ खतिवडा अस्वस्थ तरिकाले पकाएको मासुले मानव स्वास्थ्यमा असर पर्ने बताउँछन् । बोसो बढी भएको मासु खाँदा मोटोपन बढ्ने बताउँदै उनी भन्छन्, ‘मासुसँगै खाद्य परिकार धेरै खाइने हुँदा यसले शरीरमा चिनीको मात्रा बढाउने जोखिम हुन्छ ।‘
खाना खाएपछि चार घण्टामा सामान्य अवस्थामा आउनुपर्छ । बोसोसँगको खानाले १२ घण्टासम्म चिनीको मात्रा बढाइरहन्छ । ‘राति बोसोसहितको खाना खाँदा बिहानसम्म यसको प्रभाव रहिरहन्छ । बोसो बढी भएको मासु खाँदा एलडिएल कोल्डस्ट्रोर, ट्राइग्लिसिराइडको मात्रा बढ्छ’, डा. खतिवडा भन्छन्, ‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक छ । बोसोरहित मासु कम खानुपर्छ ।‘
चाडपर्व भन्नासाथ हर्षोल्लासका साथ मनाइन्छ, यो स्वाभाविक पनि हो । तर खानपिन र आहारविहारमा लापरबाही गर्दा स्वास्थ्यमा जोखिम निम्तिरहेको छ । अर्को कुरा, धेरै बिरामी आफू मरणासन्न नहुँदासम्म अस्पताल वा स्वास्थ्य केन्द्रमा नजाने, सहेर बस्ने गर्छन् । खासगरी घरमा सबैजना जम्मा भएको बेला अरूलाई ‘डिस्टर्ब’ हुन्छ भनेर आफूलाई बेस्सरी छाती दुखे पनि वा श्वास फेर्न गाह्रो भएपनि सहने चलन छ, जसले गर्दा मुटुरोगीलाई जोखिम बढ्न सक्छ ।
यसबाहेक यसबेला शारीरिक परिश्रम पनि बढ्छ र खानपिनका कारण स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्न सक्छ, जसले गर्दा रोगले च्याप्न सक्छ । चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ प्रा. डा. श्यामराज रेग्मी मुटुरोग भन्नेबित्तिकै प्रेसर (हाइपरटेन्सन), सुगर (मधुमेह) र हाई कोलेस्ट्रोल (डिस्लिपिडिमिया) जस्ता रोगसँग जोडिने बताउँछन् । मुटुरोगसँगै सुगर, प्रेसर वा चिल्लोको मात्रा बढी भएको समस्या छ भने तिनीहरूले खानपानमा अत्यन्तै सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । ‘यदि शुद्ध मुटुरोग मात्र छ र मुटु कमजोर छैन भने अरू बिरामीको जस्तो साधारण खानपिनमा धेरै बार्नु पर्दैन’, उनी भन्छन्, ‘सामान्यतया, हामीले मुटु रोगीलाई चिल्लो र मासु धेरै नखान सल्लाह दिने गरेका छौँ ।‘धेरै चिल्लोले मुटुलाई असर गर्न सक्ने र पाचन शक्तिमा गडबडी ल्याउन सक्छ । पेट फुल्यो भने पनि त्यसले अप्रत्यक्ष रूपमा मुटुको कामलाई असर गर्न सक्छ ।
डा. रेग्मी भन्छन्, ‘चिल्लो, छाला र बोसो नभएको मासु थोरै खान हुन्छ । मासु छुँदै नछुने वा जिब्रोको स्वादलाई ध्यानै नदिने भन्ने कुरा सामाजिक सञ्जालमा चर्चा पाए पनि थोरै खानाले केही असर हुँदैन । मधुमेह नियन्त्रणमा छ भने दिनमा एउटा वा दुईवटा मिठाई खाँदा फरक पर्दैन ।‘
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 23, 2026
June 19, 2026
June 17, 2026
June 14, 2026
June 12, 2026
June 11, 2026
June 10, 2026
June 08, 2026
May 27, 2026
May 27, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .