इ चितवन खबर
January 09, 2026
काठमाडौँ। रङ्गमञ्च मार्फत आफ्नो अभिनय कौशलता प्रस्ट्याउनु भएका अभिनेता सौगात मल्ल आफूले निर्वाह गर्नुभएको भूमिकाका कारण परिचित हुनुहुन्छ । अभिनेता मल्लले निर्देशक आकाश अधिकारीले निर्देशन गर्नुभएको चलचित्र ‘रणभूमि’ मा पहिलोपटक अभिनेताका रुपमा अभिनय गर्नुभएको थियो । त्यसपछि ‘दाग’, ‘पन्छी’ जस्ता चलचित्रमा काम गरे तापनि अभिनेता मल्ललाई रङ्गमञ्चको अभिनेता भनेर चिन्ने गरिन्छ । किनकी ती चलचित्रमार्फत उहाँले आफूलाई चिनाउन सक्नुभएन । तर, अहिले उहाँलाई केहीले ‘हाकु काले’ र ‘बमकाजी’ का उपनामले चिन्ने गरेकाछन् । ती नामलाइ बिर्साउनसक्ने अभिनय नै उहाँको लागि चुनौतीसमेत बनिरहेको छ । साथै, आफूलाई चिनाउने रङ्गमञ्चमा उहाँ फर्किन सक्नुभएको छैन । तर, सङ्ख्यातत्मक वृद्धिले अभिनेता मल्ल पनि खुसी हुनुहुन्न । प्रस्तुत छ, उहाँले आफ्नो अभिनय यात्रा र आगामी योजनाबारे गर्नु भएको कुराकानीको सम्पाददित अंश :
रङ्गमञ्चको अभिनेतालाई किन नाटकमा देखिन कठिनाइ भइरहेको छ ?
पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन तर विविध कारणले सम्पन्न हुन सकेको छैन । केही अभिनेता साथीहरूसँग पनि योजना बनाइरहेको छु । एउटा चलचित्रमा काम गरेर त्यसलाई नै नाटकका रुपमा समेत प्रस्तुत गर्ने तयारी पनि भएको थियो । तर, विविध कारणले रोकियो । यद्यपि, अब नाटकमा फर्किनुपर्छ भन्ने मैले महसुस गरिसकेको छु । समय मिलाउन अलि अप्ठ्यारो परेकै हो तर छिट्टै रङ्गमञ्चमा प्रस्तुत हुने कोशिस गर्नेछु ।
चलचित्रमा एकै किसिमको भूमिकामा देखिनुभयो भन्ने पनि गुनासो छ नी ?
हामी अभिनेताले हरेक पात्रलाई फरक बनाउने कोशिस गरिरहेका हुन्छौँ । कहिलेकाहीँ निर्माताले पुरानै पात्रलाई ल्याउनुस्भन्दा पनि फरक गर्ने हाम्रो प्रयास हुन्छ नै तर हामीबाट पर्दामा के ल्याउन खोजेको भन्ने विषयमा निर्देशक स्पष्ट हुनुपर्छ । हामीले प्राप्त गरेको पात्रलाई निर्वाह गरिरहेका हुन्छौँ, त्यो के कस्तो हुँदैछ भन्ने निर्णय गर्ने पहिलो दर्शकको रुपमा निर्देशक नै हुन् । हामी अभिनेताले पनि आफ्नो काम इमान्दारितापूर्वक गर्नुपर्छ । मैले समय पाउँदा आफ्नो भूमिकालाई भिन्न बनाउने कुनै कोशिस छोड्दिन ।
लगातार चलचित्रमा देखिँदा यो समस्या आइरहेको त होइन ?
त्यो पनि हुनसक्छ । किनकी हामीले लगातार चलचित्रमा काम गर्दा एउटा पात्रबाट अर्को पात्रमा प्रवेश गर्छौं । उक्त समयमा म कहिलेकाहीँ वास्तविक सौगात मल्ल पनि हुँदिन । हालै एउटा चलचित्रको छायाङ्कन सकेर अर्को चलचित्रका निर्माता भेट्दा मेरो पात्रकै हाउभाउ आएछ तर त्यो आफूलाई थाहा हुँदैन । त्यसैले पनि हामी अभिनेतालाई समय चाहिन्छ । म त्यही योजनामा छु । यसले हामीलाई पुरानो पात्रबाट निकाल्ने मात्र नभई नयाँ पात्रलाई बुझ्न मद्दत पनि गर्छ । यसको फाइदा मलाई पनि हुन्छ ।
निर्माता, निर्देशकबाट पात्रलाई तयार गर्न समय पाउनुहुन्छ ?
कहिलेकाहीँ समय पाइँदैन, कहिले समय आफैँ निस्किन्छ किनकी चलचित्रको काम सकेर प्रदर्शन गर्नुपर्ने हुन्छ । कथावस्तुअनुसार त्यसलाई कति समयमा तयार गर्ने भन्ने योजना पनि हुन्छन् । तर, मैले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘भाइरल गोर्खे’का लागि झन्डै १२ दिन समय पाएँ । हामी छायाङ्कन गर्न नै निस्किएका थियौँ तर विविध कारणले छायाङ्कन ढिला भएपछि मैले त्यो समय मेरो पात्र र उसले बोल्ने संवादमा दिएँ । त्यो चलचित्रमा पनि देखिन्छ जस्तो लाग्छ । आगामी माघ १ गते उक्त चलचित्र नेपालभर प्रदर्शन हुँदैछ ।
तपाईंले पात्र कसरी तयार गर्नुहुन्छ ?
पटकथामा लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेशले त्यसलाई तयार गर्छ तर मैले आफ्ना भोगाइलाई समावेश गर्ने गर्छु । परिवेशअनुसार भोगाइले तयार गर्ने पात्रलाई कल्पना गर्छु । निर्देशकले देख्ने र मैले बुझ्ने पात्र मिलेपछि त्यसलाई पर्दामार्फत दर्शकसम्म पुर्याउने गरेका छौँ ।
तपाईंले अभिनय गर्नुभएको चलचित्र ‘भाइरल गोर्खे’ सामाजिक सञ्जालसँग जोडिएको छ तर तपाई सामाजिक सञ्जालमा निकै कम सक्रिय हुनुहुन्छ नी ?
सानैदेखि मैले अभिनयबाहेक अन्य कुरा सोचिन । त्यसैले म प्रविधिमैत्री कम छु, मेरो ध्यान चलचित्रमै हुन्छ । अहिले म केही सामाजिक सञ्जालमा छु तर त्यसलाई मेरो कुरा पोस्ट गर्न नभई चलचित्रको सामग्री प्रचार गर्न प्रयोग गर्छु । आफ्नो कुराहरू प्रचार गर्न सामाजिक सञ्जाल चाहिन्छ भनेपछि म जोडिएँ तर राम्रोसँग प्रयोग गर्न जानेको छैन । चलचित्रका लागि पात्रको तयारी गर्दा मैले सामाजिक सञ्जालबारे बुझ्न पाएँ । हामीले यसको प्रयोग र यसले पार्ने लतको विषयलाई राम्रोसँग देखाएका छौँ । चलचित्रमा मेरो पात्र नै अरुको सामाजिक सञ्जालको लोकप्रियता देखेर त्यस्तै नक्कल गर्न खोज्ने छ, त्यसैले मैले सिक्दै गरेको सुहाएको छ ।
तपाईं समग्र कथाभन्दा पनि आफूले निर्वाह गर्ने पात्रलाई बढी ध्यान दिनुहुन्छ ?
पहिला मलाई मेरो पात्रले आकर्षण गथ्र्यो तर समग्रमा पटकथा बलियो भएन भने मेरो एक्लो पात्रले प्रभाव पार्न सक्दैन । त्यो मैले बुझिसकेको छु । तर म आफ्नो पात्रबाहेक अन्य कुरामा धेरै चासो लिन्न किनकी त्यसले मलाई नै अप्ठ्यारो पार्छ । मेरो काम निर्देशकले दिएको निर्देशन मान्ने र पात्रलाई न्याय गर्ने हो, मेरो ध्यान तेता केन्द्रित हुन्छ ।
आफ्नो काम आफैँलाई कस्तो लाग्छ ?
मलाई मैले गज्जब काम गरेँ भन्ने लाग्दैन । त्यसैले हरेक पात्रमा मेहनत बढाइरहेको हुन्छु । म आफ्नो काम धेरै मन नपराउने अभिनेतामा पर्छु । र, आफ्नो कामबाट सन्तुष्ट भयो भने अल्छी बन्न सकिन्छ भन्ने लाग्छ । त्यसैले मेरो फिल्मको सफलता वा असफलताले मेरो मेहनतमा प्रभाव पार्दैनन् । मैले सिकेको र जानेको नै अभिनय हो । त्यसैले म त्यसलाई नै सोच्छु र बाँच्छु । आफ्नो पात्रलाई सक्दो जीवन्त बनाउन मैले जानेको मेहनत गर्छु, गरिरहने छु ।
आफूले गरेको काम कहाँ बिग्रियो भन्ने थाहा हुन्छ ?
छायाङ्कनकै क्रममा कथामा लेखिएका कुराहरू भएका छन् कि छैनन् भन्ने थाहा हुन्छ । स्वराङ्कनसम्म यस चलचित्रबाट कति आशावादी रहने भन्नेमा लगभग स्पष्टता आउँछ तर त्यहाँ सबैको मेहनत जोडिएको हुन्छ, त्यसैले मैले आफ्नो किसिमले केही भन्न सक्दिन । चलचित्रले आफूलाई सन्तुष्टि दिएको छ भने राम्रो छ भन्न सकिन्छ, नत्र मैले हेरेको छैन भन्दिन्छु । बाँकी दर्शकले हेरेर आफ्नो समीक्षा दिनु नै हुन्छ । त्यसैले सफलता वा असफलताभन्दा पनि हाम्रो ध्यान मेहनत र आफूले पाउने पात्रमा केन्द्रित हुन्छ ।
चलचित्र छान्ने बेलामा त्यस्ता पक्षमा ध्यान दिनुहुन्न ?
मलाई निर्देशकको पछिल्लो कामभन्दा पनि उसले म कहाँ ल्याएको विषय र त्यसको प्रस्तुतीकरणले आकर्षण गर्छ । पछिल्लो काम बिग्रिएको छ भने आउँदो काम राम्रो गर्न सक्दैन भन्ने मलाई लाग्दैन । विश्वभर आश नगरिएकाले निर्देशक, अभिनेताले गज्जब काम गरेका छन् । र म कहाँ प्रस्ताव आएका चलचित्रबाट नै मैले छनोट गर्ने हो । कहिलेकाहीँ फलानो चलचित्र किन नगरेको भन्ने पनि सुन्छु तर म कहाँ आएका र मलाई राम्रो बन्छ भन्ने लागेका चलचित्रमै मैले काम गर्ने हो । त्यही गरिरहेको छु ।
त्यही भएर निर्माता बन्नुभयो ?
निर्माता बन्नुमा विषयवस्तु राम्रो लागेको हो । सो समयमा निर्माण पक्षलाई सहकार्यको आवश्यकता मैले महसुश गरेँ । कलाकारिताबाटै यो स्थान बनेको हुँ । त्यसैले आफ्नो कमाईलाई यहीँ प्रयोग गरेँ । राम्रो कथालाई पर्दामा ल्याउन म सहयोगी हुनुपर्छ भने म तयार छु किनकी मैले अभिनय र चलचित्रबाहेक अरु जानेको छैन । म निर्माताका रुपमा जोडिएर कुनै कथालाई पर्दामार्फत दर्शकसम्म पुग्न सजिलो हुन्छ भने म पनि त्यस्ता विषयमा सजिलो हुनुपर्छ ।
निर्माता त बन्नुभयो, निर्देशनतर्फको सोच के छ ?
त्यो सोच अहिले छैन । विशेषतः अभिनयमै केन्द्रित रहन्छु । कहिलेकाहीँ निर्माताका रुपमा पनि पाउनु हुनेछ । आगामी समयमा गर्ने कामका लागि पछिल्लो कामको समीक्षा गर्नेछु । गरिसकेको गल्ती फेरि नहोस् भन्ने नै सोचेको हुन्छु । निर्देशक बनेर त्यो सम्पूर्ण अभिभारा मैले उठाउन सक्ने बेला भएको छैन । त्यो नगर्ने भन्ने होइन वा गर्दिन भनेर ठोकुवा गर्न सक्दिन तर अहिले समय आएको छैन ।
चलचित्र ‘भाइरल गोर्खे’ मा अभिनेता शिव श्रेष्ठको नक्कल गर्नुभयो ? कत्तिको सहज भयो ?
मैले शिव दाइ (शिव श्रेष्ठ) को धेरै चलचित्र हेरेको छु । पछिल्लो समय चलचित्र भवनमा पुगेर मैले ‘ठूल्दाइ’ नामक चलचित्र हेरेको थिएँ । उहाँको अभिनय प्रतिको लगनशीलता र ऊर्जाले मलाई प्रेरणा नै दिएको छ । केही समय अगाडि चलचित्र ‘लप्पन छप्पन’ मा सँगै काम पनि गर्न पाएँ । बच्चादेखि नै दर्शक भएकाले मलाई उहाँको हाउभाउ पर्दामा ल्याउन सहज नै भयो । फेरि, चलचित्रमा उहाँको दुरुस्त नक्कल नभई उहाँ जस्तै बन्न खोज्ने पात्रलाई निर्वाह गरेको छु । त्यसैले शिव दाइ नभई उहाँ जस्तो बन्न खोज्ने पात्रलाई न्याय गरे जस्तो लागेको छ । उहाँको जीवनीमा बन्ने चलचित्रमा काम गर्नु पर्यो भने चाहिँ म निकै मेहनत गर्नेछु तर अहिलेलाई पात्रले खोजे जस्तो मात्र गरेको छु ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 09, 2026
March 17, 2026
February 02, 2026
January 16, 2026
January 09, 2026
January 08, 2026
December 14, 2025
November 12, 2025
October 31, 2025
October 28, 2025
April 19, 2026
April 19, 2026
April 17, 2026
April 16, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .