इ चितवन खबर
March 24, 2025
काठमाडौँ। अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गर्नुभएको थियो । उहाँले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गर्नुभयो । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गर्नुभयो ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उहाँले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ । पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु ।”
त्यसो त उहाँले ‘करिअर’ को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गर्नुभयो । विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उहाँको बुझाइ छ । उहाँले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गर्नुभयो ।
“मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ किर्तिमान बनाइरहेको छ । यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो”, अभिनेत्री कोइरालाले भन्नुभयो ।
कोइरालाद्वारा अभिनित पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त ग¥यो । भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गर्नुभएको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो । अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गर्नुभएको थियो ।
भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उहाँले बताउनुभयो । उर्दु बोल्नु पर्ने भएकाले भाषा विज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण अभिनेत्री कोइरालाले गर्नुभयो ।
“मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो । अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो”, उहाँले भन्नुभयो ।
अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताउनुभयो । उहाँले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिनुभयो । महोत्सव आज साँझ समापन हुने आयोजकले जनाएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 09, 2026
February 02, 2026
January 09, 2026
December 14, 2025
October 25, 2025
October 19, 2025
October 12, 2025
October 09, 2025
October 01, 2025
July 15, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .