इ चितवन खबर
February 02, 2026
काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले सिनेमा हलमा प्रदर्शनरत नेपाली चलचित्रको शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो ।
विवरणअनुसार गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको उक्त चलचित्रले शनिबारसम्म रु एक करोड २८ लाख ५२ हजार ३१९ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल ४० हजार ६२४ वटा टिकट बिक्री भएका छन् ।
भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
यही माघ १ गतेदेखि माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शन सुरु गरिएका तीन चलचित्रले पनि उत्साहजनक व्यापार गर्न नसकेको बोर्डद्वारा सार्वजनिक तथ्याङ्कमा छ । ‘बल्छी धुर्वे’ का रूपमा टेलीशृङ्खलामा परिचित मरिचमान श्रेष्ठले निर्देशन गर्नुभएको चलचित्र ‘गोबर गणेश’ ले रु एक करोड ३६ लाख २० हजार ८६६ कमाएको छ ।
निर्देशक श्रेष्ठसँगै वर्षा शिवाकोटी विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको उक्त चलचित्रको ४८ हजार ५३ वटा टिकट बिक्री भएका छन् ।
माघ १ देखि प्रदर्शन सुरु भएको चलचित्र ‘मिरमिरे’ ले रु ३३ लाख ९३ हजार ७२५ कमाएको छ । बुबाछोरीबीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा आधारित उक्त चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय गर्नुभएको छ । यम शेर्पाको निर्देशनमा तयार भएको उक्त चलचित्रको १० हजार ८८४ वटा टिकट बिक्री भएका विवरणमा उल्लेख छ ।
अभिनेता सौगात मल्लले अभिनय गर्नुभएको चलचित्र ‘भाइरल गोर्खे’ ले सोही अवधिमा रु ३६ लाख १० हजार ९२५ कारोबार गरेको छ । सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई केन्द्रित गर्दै तयार गरिएको उक्त चलचित्र पनि माघ १ गतेदेखि प्रदर्शन भएको थियो । निगम श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायतले अभिनय गरेका छन् । उक्त चलचित्रको सो अवधिमा ११ हजार २९८ वटा टिकट बिक्री भएको जनाइएको छ ।
यही माघ ९ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘परिवर्तन’ ले रु ३१ लाख नौ हजार ९२५ कारोबार गरेको छ । मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको उक्त चलचित्रमा अभिनेता सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
दीपक सिवाकोटीले निर्माण गर्नुभएको उक्त चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको हो । विजय केरुङले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कूल ११ हजार छ टिकट बिक्री भएका छन् ।
चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 02, 2026
September 26, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
April 09, 2026
January 09, 2026
December 14, 2025
October 25, 2025
October 19, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .