इ चितवन खबर
August 26, 2025
कलकता । हिन्दु संस्कृतिमा प्रचलित उखान ‘सारा तीर्थ बारम्बार, गंगासागर एकबार’ ले पनि गंगासागर यात्राको महत्वलाई प्रस्ट्याउँछ। यसको अर्थ अन्य तीर्थ स्थानहरूको यात्रा जीवनमा धेरैपटक गर्न सकिन्छ तर गंगासागरको यात्रा भने जीवनमा कम्तीमा एकपटक गर्नैपर्छ भन्ने जनविश्वास रहेको छ।
गंगासागर, जहाँ गंगा नदी बंगालको खाडीमा मिसिन्छ, हिन्दूहरूका लागि अत्यन्त पवित्र स्थल मानिन्छ। विशेषगरी मकर संक्रान्तिका दिन यहाँ स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास छ। भनिन्छ, गंगासागरमा स्नान गर्नाले सय अश्वमेध यज्ञ र हजार गाई दान बराबरको पुण्य प्राप्त हुन्छ।
कठिन यात्रा र आजको सहजता
पहिलाका समयमा गंगासागर पुग्न निकै कठिन हुन्थ्यो, जसकारण सबै श्रद्धालु यहाँ पुग्न सक्दैनथे। यही कारणले पनि “गंगासागर एकपटक” भन्ने भनाइ प्रचलित भयो तर आधुनिक यातायात र सञ्चार सुविधाले गर्दा आज यो यात्रा सजिलै गर्न सकिने बनेको छ।
गंगासागरको पौराणिक कथा
हिन्दु धर्मग्रन्थअनुसार गंगासागरको कथा राजा सगर र कपिल मुनिसँग जोडिएको छ। राजा सगरले अश्वमेध यज्ञ गर्दा इन्द्रले घोडा चोरी गरी कपिल मुनिको आश्रम नजिक राखिदिए। घोडा खोज्दै आएका राजा सगरका ६० हजार छोराले कपिल मुनिलाई चोरीको आरोप लगाए। यस आरोपबाट क्रोधित कपिल मुनिले ती सबैलाई श्राप दिँदै भस्म पारे। पछि राजा सगरका वंशज राजा भगीरथले कठोर तपस्या गरी गंगालाई पृथ्वीमा ल्याए। भगवान शिवले गंगालाई आफ्नो जटाबाट पृथ्वीमा अवतरित गरिदिए। गंगा भगीरथलाई पछ्याउँदै समुद्रमा पुगिन्, जहाँ सगरका पुत्रहरूको राख रहेको थियो। गंगाको पवित्र जलले स्पर्श गर्दा सबैलाई मोक्ष प्राप्त भयो।
यस घटनाको सम्झनामा गंगासागर नाम प्रसिद्ध भयो र यहाँ हरेक वर्ष मकर संक्रान्तिमा विशाल गंगासागर मेला लाग्छ।
गंगा सागरको आध्यात्मिक केन्द्र कपिल मुनि मन्दिर हो। यसमा कपिल मुनि, गंगादेवी र राजा भगीरथका मूर्तिहरू स्थापना छन्। श्रद्धालुहरू स्नानपछि यस मन्दिरमा पूजा अर्चना गरी आशीर्वाद लिन्छन्।
विश्वास छ, गंगासागरमा स्नान गर्दा सबै पाप नष्ट हुन्छन् र मोक्ष प्राप्त हुन्छ। जसरी अन्य तीर्थ स्थानहरूमा पटक–पटक पुग्न सकिन्छ, गंगासागरलाई जीवनमा एकपटक अवश्य पुग्नुपर्ने स्थानका रूपमा हेरिन्छ।
गंगासागरको भौगोलिक स्थिति
गंगासागर, जसलाई सागर द्वीप पनि भनिन्छ, भारतको पश्चिम बंगाल राज्यको दक्षिण २४ परगना जिल्लामा अवस्थित छ। यो द्वीप कोलकाताबाट करिब १२०–१५० किलोमिटर दक्षिणतर्फ पर्दछ। यो गंगा नदीको अन्तिम संगम स्थल हो, जहाँ गंगा बगेर बंगालको खाडीमा मिसिन्छ। द्वीप समुद्री सतहमै अवस्थित भएकाले यसको भू–आकृति समथर छ। गंगासागर पूर्वी भारतको तटीय क्षेत्रभित्र पर्ने भएकाले यहाँको मौसम उष्णकटिबंधीय प्रकृतिको हुन्छ। गर्मीयाममा उच्च तापक्रम र आर्द्रता रहन्छ भने वर्षायाममा पर्याप्त वर्षा हुन्छ।
भौगोलिक दृष्टिले, गंगासागर धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्व बोकेको स्थान हो। यही कारणले प्रत्येक वर्ष मकर संक्रान्तिको अवसरमा यहाँ लाखौँ श्रद्धालु स्नान गर्न आउँछन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 30, 2025
August 23, 2025
August 13, 2025
July 30, 2025
July 21, 2025
June 13, 2025
June 11, 2025
May 09, 2025
April 12, 2025
April 10, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .