मुख्य समाचार

थप समाचार

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी । पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका अव्यवस्थित र जीर्ण पोल । एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच । केही समयअघिसम्म पोखराको मुख्य राजमार्ग र छेउछाउका बस्तीमा आँखा बिझाउने दृश्य थिए यी । तर अहिले पोखराका केही ठाउँको अवस्था फेरिएको छ ।


अस्तव्यस्त बिजुलीका पोल र तार हटाइएपछि सडक खुला देखिएको छ । सहरको सौन्दर्य पनि फर्केको छ । तद्रयाङ–तुन्द्रुङ रूपमा लत्रेका र गुजुमुज्ज तारको चेपबाट हिमाल चिहाउनुपर्ने बाध्यता हटेको छ । बिजुलीको तारसँगै टेलिफोन, केबल र इन्टरनेटका तारको व्यवस्थापन पनि सँगै अघि बढेको छ ।


नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघि विद्युतीय तार भूमिगत गर्न थालेपछि पोखराको मुख्य सहरी क्षेत्र तारको जञ्जालबाट मुक्त भएको हो । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा २२३ किमी क्षेत्रमा विद्युतीय तार जमिनमुनि बिछ्याउने काम भइरहेको हो । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार १६५.७ किमी तार बिछ्याइसकिएको छ । ५५.२ किमीमा विद्युत् प्रवाहसमेत भइसकेको उहाँले बताउनुभयो । 


“पोखरामा आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ, आउँदो वैशाखभित्रमा काम सक्ने लक्ष्य छ”, इन्जिनियर सुवेदीले भन्नुभयो, “छ हजार घरमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुर्याइनेछ ।” पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक र सेती पुलसम्म पृथ्वी राजमार्ग क्षेत्रका ४०० बढी घरमा सोही प्रणालीबाट विद्युत् सेवा पुगिसकेको उहाँले बताउनुभयो । सेती पुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सकिएको उहाँको भनाइ छ । 


लेकसाइडका भित्री सडकमा पनि तार बिछ्याइसकेर अब बिजुली जोड्नमात्र बाँकी रहेको उहाँले बताउनुभयो । अहिले सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा र सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै लेकसाइडको तालबाराही मन्दिरतर्फ जोडिने सडकको केही खण्डमा तार बिछ्याउने काम भइरहेको छ । “सेती पुल निर्माणाधीन अवस्थामा रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको तारमा तत्काल विद्युत् प्रवाह गराउन सकिएको छैन”, इन्जिनियर सुवेदीले भन्नुभयो, “पुलको काम अन्तिम चरणमा रहेकाले छिट्टै बाँकी ठाउँमा पनि भूमिगत प्रणालीबाट विद्युत् सेवा पुग्छ ।”


आयोजनाले मुख्य राजमार्गसँगै सहायक सडकसम्म तार बिछ्याउने काम गरिरहेको छ । बिजुलीको तारसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइएको हो । “विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गर्ने काम भइरहेको छ, पहिले रहेका ओभरहेड प्रणालीका सबै तार हटाइएको छ”, इन्जिनियर सुवेदीले भन्नुभयो । आयोजनाले पहिलो चरणमा पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आवतजावत हुने ठाउँलाई लक्षित गरी तार भूमिगत गरेको हो । 


पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु एक अर्ब ७० करोड खर्च हुने आयोजना कार्यालयले जनाएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको इन्जिनियर सुवेदीले बताउनुभयो । दुई वर्षमा काम सक्नेगरी सन् २०२२ को जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले निर्माणको ठेक्का पाए पनि त्यसको १५ महिनापछि मात्र पोखरामा तार बिछ्याउने काम सुरु भएको थियो । 


इन्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि बीचमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाको भौतिक प्रगति सुस्त देखिएको इन्जिनियर सुवेदीले बताउनुभयो । विद्युतीय तार भूमिगतसँगै जीर्ण पोल र तार हटाएपछि स्वच्छ र हराभरा पोखराको सौन्दर्यमा पनि टेवा पुगेको छ । अव्यवस्थित तथा जीर्ण विद्युत् पोल र तारको व्यवस्थापनले दुर्घटनाको जोखिम पनि कम हुने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले बताउनुभयो । 


उहाँका अनुसार अव्यवस्थित तार र पोलका कारण हुने दुर्घटनाबाट मानिसको ज्यान जाने गरेको छ । सवारीसाधन पोलमा ठोक्किएर र करेन्ट लागेर त्यस्ता दुर्घटना हुने गरेको छ । “अव्यवस्थित तार र पोल हटाउँदा विद्युतीय दुर्घटनामात्र नभएर सवारी दुर्घटनाको जोखिम पनि घट्छ”, उहाँले भन्नुभयो, “पोखरा सहरभरि नै विद्युतीय तार भूमिगत गर्न सकियो भने धेरै राम्रो हुने थियो ।” नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रले पोखरा उपत्यकाभरका पुराना पोल र तार विस्थापनका ठूलो बजेट चाहिने जनाएको छ । 


चार दशकअघिको विद्युत् लाइनलाई विस्थापित गरी नयाँ राख्नुपर्ने अवस्था रहेको केन्द्रको भनाइ छ । प्राधिकरणले काठमाडौँ, पोखरा, भरतपुरजस्ता ठूला सहरमा तार भूमिगत गर्ने योजना सञ्चालन गरिरहेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भरतपुरमा १५६.३३ किमी क्षेत्रमा विद्युतीय तार भूमिगत गरिएको इन्जिनियर सुवेदीले जानकारी दिनुभयो । भरतपुरमा ९५ प्रतिशत काम सकिएको उहाँको भनाइ छ । पोखरा र भरतपुर गरी आयोजनको कुल भौतिक प्रगति ८८ प्रतिशत पुगेको उहाँले बताउनुभयो । 


भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो मानिन्छ । महँगो प्रणाली भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त रहेको इन्जिनियर सुवेदीले बताउनुभयो । पोखरा उपत्यकाभरको विद्युतीय तार जमिनमुनि बिछ्याउन पाँच अर्बभन्दा बढी बजेट चाहिने उहाँको भनाइ छ । “यो महँगो परियोजना हो, एकैसाथ ठूलो लगानी गर्न सरकारले पनि सक्दैन, प्रभाव र उपयोगिता हेरेर पोखराका अरु ठाउँमा पनि यो काम विस्तार हुन्छ”, उहाँले भन्नुभयो । प्राधिकरणले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा पोखरा र भरतपुरमा यो आयोजना सञ्चालन गरेको हो ।

चितवन खबर

More News

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

October 22, 2026

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

October 16, 2026

शान्ति समाज चितवन शाखाको सभापतिमा जीवन के.सी निर्वाचित

October 01, 2026

कांग्रेस महाधिवेशन तयारी समितिमा दीपक अधिकारीलाई चितवनको सह–संयोजकको जिम्मेवारी

September 26, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

September 23, 2026

“लुलु लेडिज ब्यूटी पार्लर” को नारायणघाट शाखा सञ्चालनमा

September 22, 2026

चौबिसकोठीमा आधा घण्टा प्रदर्शन

September 22, 2026

लुलु लेडिज ब्यूटी पार्लरको शहिदचोक शाखा असोज ५ गतेदेखि सञ्चालनमा

September 18, 2026

रक्तदान कार्यक्रम सम्पन्न

September 13, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

September 13, 2026

भूतपूर्व सैनिक २/८ गोरखा राइफल्स (सिएनजी परिवार)द्वारा बाढीपीडितका लागि २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग

September 10, 2026

छोरीको जन्मदिनमा बालिका आश्रममा भोजन गराउँदै मनाइन् युवा उद्यमी कल्पना गुरुङले

September 10, 2026

जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा दीप प्रज्वलन

September 08, 2026

दुई दिने निःशुल्क सिसी टि.भी क्यामेरा मर्मत तथा फिटिङ तालिम सम्पन्न

September 08, 2026

भोटेकोशी बाढीपीडितका लागि मन्टेश्वरी एसोसिएसन चितवनद्वारा सहयोग

September 01, 2026

भरतपुर–६ गीतानगरमा निःशुल्क आँखा शिविर सम्पन्न, ३०० जनाले गराए आँखा परीक्षण

September 01, 2026

राजनीति

More News

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्नुभएको छ । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 


परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदँैछ । 


सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । 


उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ । 


फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवद्र्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।


त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ ।


पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ । 

खेलकुद

More News

गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता :लुम्बिनी र मधेस प्रदेश भिड्दै

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेस प्रदेशबीच उपाधि भिडन्त हुने भएको छ । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा आज हुने फाइनल खेलका लागि लुम्बिनी र मधेस प्रदेशले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।


सोमबार भएको सेमिफाइनल प्रतिस्पर्धामा आयोजक गैँडाकोट मेयर्स ११ लाई पाखा लगाउँदै लुम्बिनी प्रदेश र सुदूरपश्चिमलाई पाखा लगाउँदै मधेस प्रदेश उपाधि भिडन्तका लागि आमनेसामने हुने भएका हुन् । पहिलो सेमिफाइनल खेलमा आयोजक गैँडाकोट मेयर्स ११ लाई ४४ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । टस हारेर ब्याटिङको निम्ता पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८१ रन बनायो । लुम्बिनीले दिएको १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गैँडाकोट मेयर्स ११ ले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३७ रनमात्र बनाउन सफल भयो ।


लुम्बिनीको जितका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ५० बलमा छ छक्का र पाँच चौकाको मद्दतले ७४ रनको योगफल तयार पारे । त्यस्तै प्रज्वल थापाले १९ बलमा तीन छक्का र दुई चौकासहित ३८, सम्राट भुसालले २३ बलमा एक छक्का र तीन चौकासहित २७ तथा दिपेश रोकाले १० बलमा एक छक्का र एक चौकासहित १५ रनको योगदान दिँदा अन्य ब्याटरहरूले दोहोरो अङ्क जोड्न सकेनन् । 


बलिङतर्फ मेयर्स ११ का बलर चन्द्रकान्त पौडेलले चार ओभरमा २० रन खर्चिदै लुम्बिनीको चार विकेट लिए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै, गौतम केसीले तीन तथा अपराजित पौडेलले एक विकेट लिए । गैँडाकोट मेयर्स ११ का लागि दीपक बोहोराले ४० बलमा एक छक्का र चार चौकासहित ४४ रनको योगफल तयार पारे । त्यस्तै हरि चौहानले ३४ बलमा तीन छक्का र चार चौकासहित ४२, कप्तान गौरव विश्वकर्माले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्को योगफल तयार पार्न सकेनन् । मेयर्स ११ लाई पाखा लगाउने क्रममा लुम्बिनीका सलाउद्दिन खानले पाँच, वीरबहादुर घर्तीमगरले चार तथा कृष्ण कार्कीले एक विकेट लिए ।
 

सोमबार नै भएको अर्को सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशका विरुद्ध मधेस प्रदेशले तीन विकेटले जित निकाल्दै फाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम प्रदेशले दिएको १५३ रनको चुनौती मधेसले १८.२ ओभर खेल्दै सात विकेटको क्षतिमा पूरा गर्न सफल भयो । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।
 

मधेस प्रदेशको जितका लागि पवन सर्राफले अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ३४ बलमा पाँच छक्का र एक चौकाको मद्दतले ५१ रनको योगफल तयार पारे । त्यस्तै मयन यादवले २७ बलमा तीन छक्का र दुई चौकासहित ३८, कप्तान अनिलकुमार शाहले १४ बलमा तीन छक्का र तीन चौकासहित ३३, अविशेख तिवारीले १२ बलमा १० रन बनाउँदा अन्य ब्याटरहरूले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका कैलाश ऐरले तीन एवं मिलन बोहोरा, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले एक–एक विकेट लिएका थिए । 


सुरुआती ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेशका कप्तान किरन ठगुन्नाले २३ बलमा एक छक्का र चार चौकासहित ३४ रनको योगफल तयार पारे । त्यस्तै, रोशन साउदले २५ बलमा दुई छक्का र दुई चौकासहित २९, दीपक टमटाले २४ बलमा दुई छक्का र दुई चौकासहित २७, टेक रावतले १० बलमा एक छक्का र दुई चौकासहित २० रनको योगफल तयार पारे । लोकेन्द्र चन्द र कैलाश ऐरले १०–१० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् । बलिङतर्फ रञ्जित कुमारले चार तथा अविशेख तिवारीले तीन विकेट लिए । 


जिल्लाकै ठूलो धनराशिको पाँचौँ गैँडाकोट टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सातवटा तथा आयोजक एक गरी आठ टिमको सहभागिता थियो । प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछन् ।

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .